संसद् पुनर्स्थापना नभए सहजरूपमा नलिने प्रचण्डको चेतावनी



काठमाडौँ। काठमाण्डूस्थित विदेशी सञ्चारमाध्यमका प्रतिनिधिहरूसँग मङ्गलवार कुरा गर्दै पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले आफूहरूले थालेको आन्दोलनबारे चर्चा गरेका थिए।

हाल विघटनको विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको एवम् संविधानको मर्म र भावनाअनुरूप उक्त विघटन उल्ट्याइने विश्वास गरेको उनीहरूले बारम्बार दोहर्याए। प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते संसद्‌को तल्लो सदन विघटन गरी बैशाखमा नयाँ निर्वाचन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए प्रधानमन्त्रीले घोषणा गर्ने भनिएको गोप्य कुरा के थियो।

सेटिङको भ्रम

प्रधामन्त्रीको समूहले निर्वाचन आयोग तथा सर्वोच्च अदालतजस्ता संवैधानिक निकायसँग साँठगाँठ मिलाइसकेको भएर अब संसद् पुनर्स्थापना नहुने दाबी गर्दै हिँडेको प्रचण्डले आरोप लगाए। त्यस्ता सेटिङ भएकाबारे हामीलाई विश्वास छैन।

तर, यदि सेटिङ नै खालको निर्णय भयो भने हामी सामु निकै ठूलो राजनीतिक र नैतिक प्रश्न खडा हुनेछ। त्यसलाई सहज रूपमा लिन सक्दैनौँ, प्रचण्डले भने। उक्त जबाफमा थप प्रस्टता खोजेपछि नेपालले चाहिँ अलि अर्थपूर्ण उत्तर दिँदै भने, हाम्रो टिप्पणीको तपाइँहरू आफैँ विश्लेषण गर्न सक्नुहुन्छ।

आन्तरिक विवादमात्र होइन

पटकपटक दुवै नेताले आफूहरूको आन्दोलन। पार्टीभित्रको आन्तरिक विवादमात्र नभएको प्रस्ट पार्ने कोसिस गरेका थिए। यो हाम्रो पार्टीको मात्र आन्तरिक विषय वा विवाद होइन, रहेन। प्रधानमन्त्रीलाई सत्ताको मात लाग्यो। उहाँले साम, दाम, दण्ड, भेदको नीति प्रयोग गर्नुभयो, अध्यक्ष नेपालले भने।

यो लडाइँ पदको निम्ति होइन, न्यायको निम्ति हो। यही विषयलाई आफूहरूले अन्तर्राष्ट्रिय समुदायलाई बुझाउन चाहिरहेको प्रचण्डले बताए। यहाँ लोकतन्त्रको हत्या भइरहेको छ भनेर हामीले भनिरहेका छौँ, उनले भने। विभिन्न विदेशी शक्तिहरूको आ–आफ्नै हित र चासो भएको हुनसक्ने भएपनि संसद् विघटनपछि उब्जिएको वर्तमान परिस्थितिको निम्ति केवल प्रधानमन्त्री ओली जिम्मेदार रहेको उनले बताएका थिए।

केपी ओली विक्षिप्त

प्रतिनिधिसभा विघटनपश्चात् दुवै पक्षबीच जारी चर्को वाक् युद्धको झल्को मङ्गलवारको कुराकानीमा पनि देखा पर्‍यो। गत साता माघ २३ को सभामा प्रधानमन्त्री केपी ओली विक्षिप्तु रूपमा प्रस्तुत भएको प्रचण्डको टिप्पणी थियो।

माधवकुमार नेपालले पनि ओलीलाई सत्ताको मात लागेको तानाशाहको सङ्ज्ञा दिए। पछिल्लो समयमा हिन्दू धर्म तथा राजावादीहरूसँग ओलीको हिमचिम बढेका आधारहरू रहेको प्रचण्डको आरोप थियो। पशुपतिमा दीप प्रज्ज्वलन, ३० करोडको जलप, राममन्दिर र अयोध्याका कुरा अनि ठीक नारायणहिटी सामुन्ने सभाको आयोजनाले केही न केही सङ्केत गरिरहेको उनले बताए।