काठमाडौँ। प्रधानमन्त्री केपी ओलीले आगामी वैशाख १७ र २७ गतेलाई तोकिएको निर्वाचन समयमै सम्पन्न गर्ने गरी तयारीमा जुट्ट निर्वाचन आयोगलाई आग्रह गरेका छन्।
यसअघि नेकपा विवादपछि प्रचण्ड-माधव पक्षले निर्वाचन हुन् नसक्ने भन्दै निर्वाचन आयोगलाई निर्वाचन प्रक्रिया अघि नबढाउन आग्रह गरेको थियो।
मंगलबार प्रधानमन्त्री ओली निर्वाचन आयोगको कार्यालय पुगेर निर्वाचनको तयारीबारे जानकारी लिएपछि निर्वाचन तयारी निरन्तर अघि बढाउन सुझाव दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आयोग परिसरमा उपस्थित सञ्चारकर्मीलाई जानकारी दिए।
थापाका अनुसार प्रधानमन्त्रीलाई आयोगको तयारीबारे प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया र आयुक्तहरुले जानकारी गराएका थिए। उनीहरुले आयोगको तयारी, सुरक्षा, बजेट लगायतका विषयमा जानकारी गराएका थिए। आयोगको तयारीबारे जानकारी पाएपछि प्रधानमन्त्रीले धन्यवाद दिँदै निर्वाचन प्रक्रियालाई अघि बढाउन आग्रह गरेको थापाको भनाइ छ।
प्रधानमन्त्री र आयोगलबी नेकपा विवादबारे कुनै छलफल नभएको पनि थापाले जानकारी दिए। उनले आयोगले माघ ११ गते गरेको निर्णय र माघ २० मा परेको निवेदनबारे सामान्य जानकारी मात्रै गराएको थापाले बताए। निर्वाचनको तयारीका विषयमा छलफल गर्न ओली आयोगको कार्यालय कान्तिपथ पुगेका हुन्।