गरिबीका कारण आमाद्वारा आत्महत्या, छोराछोरी बेपत्ता



सिन्धुली। दुई सन्तानसहित घरबाट निस्केकी एक महिला चार दिनपछि सुनकोसी नदीकिनारमा मृत भेटिएकी छन् । उनले सँगै लगेका १३ वर्षीया छोरी र ८ वर्षीया छोरा भने अझै बेपत्ता छन्।

यही घटनाले सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ डुँडभन्ज्याङ गाउँ शोकमा डुबेको छ। चरम गरिबी सहन नसकेर स्थानीय देवकी नेपाली छोरी सुस्मिता र छोरा सुजनसहित घरबाट बाहिरिएकी थिइन्।

मजदुरी गरेर सन्तानको हेरचाह र हातमुख जोर्दै आएकी ३३ वषीया देवकीको शव सुनकोसी नदीमा डुबर मृत अवस्थामा भेटिएको हो। छोरी–छोराले लगाएका चप्पल भने नदीको किनारमा एकै ठाउँमा भेटिएको छ। दवकी गत शुक्रबार साँझ, दुई सन्तानलाई लिएर घरबाट निस्केकी थिइन्।

‘दैनिक मजदुरी गरेर परिवार चलाउँदै आएकी देवकीका पति गोपाल नेपाली पनि सँगै मजदुरी गर्छन्। तर, गोपालले अत्यधिक मदिरा सेवन गरेर घर व्यवहार नहेर्ने भएपछि गरिबीको चरम पीडामा परेकी देवकीले आत्महत्या नै गरेको गाउँलेको अनुमान छ,’ स्थानीय शंकर बरालले भने। आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ।