भारतको हिमपहिरोमा तीन नेपालीसहित १ सय १५ जना वेपत्ता



काठमाडौँ। आइतबार भारतको उत्तराखण्डको चमौली जिल्लामा हिमनदी फुटेलगत्तै आएको बाढीमा परेर वेपत्ता हुने नेपालका तीन जनासहित १ सय १५ जनाको नाम सार्वजनिक गरिएको छ।

स्थानीय प्रशासनले सोमबार वेपत्ता हुनेहरुको नाम र ठेगाना सार्वजनिक गरेको हो। वेपत्ता सूचीमा नेपालका ३ जना रहेका छन्। स्थानीय हाइड्रोपावरको सुरुङमा फसेका केही नेपालीहरुको भने उद्दार गरिएको छ। वेपत्ता हुने नेपालीहरुमा सोहन चौधरी, शंकर चौधरी र विष्णु मल्ल रहेका छन्। उनीहरु तीनैजना सुदूरपश्चिम प्रदेश कैलाली जिल्ला, टिकापुरका वासिन्दा हुन्।

वेपत्ता हुनेहरुमा सबैभन्दा बढी भारत उत्तर प्रदेशका वासिन्दा रहेका छन्। उत्तर प्रदेशका ४६ जना वेपत्ता भएका छन्। त्यस्तै उत्तरखण्डका ४२, झारखण्डका १३, पञ्जावका ४, बिहारका ३, नेपालका ३, पश्चिम बंगालका २, जम्मु कश्मीरका १ र ओडिसाका १ जना रहेका छन्। वेपत्ताहरुको खोजी कार्य तिव्र रुपमा भैरहेको स्थानीय प्रशासनले जनाएको छ। वेपत्ता हुने अधिकांश हाइड्रोपावरमा कार्यरत मजदूर रहेका छन्।

यद्यपि, स्थानीय प्रशासनले १ सय १५ जनाको नाम सार्वजनिक गरेपनि २ सयभन्दा बढी व्यक्ति वेपत्ता भएको समाचार आइरहेको छ। आइतबार बिहान साढे १० बजे हिमनदी फुटेपछि ऋषिगंगा नदीमा ठूलो बाढी आएको थियो। अहिलेसम्म २० जनाभन्दा बढीको शव फेला परेको छ भने ऋषिगंगा हाइड्रोपावर लगायतका जलविद्युत आयोजनाको सुरुङमा फसेका मजदूरहरुको उद्दार कार्य तिव्र रुपमा भैरहेको छ।