मदन भण्डारीको हत्याबारे अनुसन्धान हुनुपर्छ: मन्त्री भट्ट



धनगढी। केपी शर्मा ओली नेतृत्वको नेकपाका स्थायी कमिटी सदस्य लेखराज भट्टले मदन भण्डारीको हत्याको अनुसन्धान हुनुपर्ने बताएका छन्।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीसमेत रहेका भट्टले धनगढीमा सोमबार आयोजित एक कार्यक्रममा मदन भण्डारीको हत्यामा संलग्न भएको व्यक्तिको बारेमा झूट फिँजाइएको बताएका हुन्।

नेता भण्डारीको हत्यामा केपी ओलीको संलग्नता रहेको हल्ला फिँजाइएको भए पनि त्यसबेला पार्टीको नेतृत्वमा माधव नेपाल भएकाले शंकास्पद रहेको बताएका छन्।

‘जीवित मान्छे अमर लामा थिए, उनलाई हाम्रै कमरेडहरुले समाते र भाग्न खोज्दा मारिए भनियो’ मन्त्री भट्टले भने, ‘त्यस घटनाको सरकारले अध्ययन गरेर सत्यतथ्य बाहिर ल्याउनु पर्छ।’

‘माधव नेपाल प्रधानमन्त्रीको कुर्सीको निमित्त निवेदन नहाल्नुस् पार्टीको नीति होइन भन्दा निवेदन हाल्न ज्ञानेन्द्रकहाँ पुगेका थिए,’ मन्त्री भट्टले भने, ‘प्रचण्डले जनयुद्धकै ताका ज्ञानेन्द्रसँग संयुक्त मोर्चा गर्नुपर्छ भनेर प्रचण्डले खबर पठाएका हुन्।’ उनले प्रचण्ड र माधव नेपालको विचार पदका लागि मिल्ने गरेको बताए।

नेकपा ओली समूह निकट प्रेस संगठनको प्रदेश भेलामा सम्बोधन गर्ने क्रममा उनले टीकापुर घटनाको योजनाकार रेशम चौधरी नभएको समेत बताए। उनले भने, ‘योजनाकार अरु कोही नै भएको हुनसक्ने मेरो आशंका छ।’