भागिरथीको न्यायका लागि सुर्खेतमा प्रदर्शन



सुर्खेत। बलात्कारपछि हत्या गरिएकी वैतडीकी किशोरी भागरथी भट्टको लागि न्याय माग्दै सुर्खेतमा निरन्तर विरोध प्रदर्शन हुँदै आएको छ।

सोमबार कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्र चोकमा नारावाजी गर्दै युवाहरु सडकमा आएका हुन्। मध्यपश्चिमाञ्चल विश्वविद्यालयको समन्वयमा सडकमा आएका युवाहरुले मृतक भट्टको न्यायका लागि सरकारसँग जोडदार माग गरेका छन्।

अनेरास्ववियूकी नेता ममता अधिकारीले भागिरथीको हत्या प्रकरणलाई राज्यले गम्भीर रुपमा नलिए आफूले जुनसुकै किसमको मूल्य चुकाउन तयार रहेको बताईन।

उनले कर्णाली सन्देशसँगको कुराकानीमा भनिन्, ‘हामी प्रहरीको विश्वास गर्छौं। तर, केही घटनाहरुमा भएको गम्भीर त्रुटीलाई पनि स्मरण गरिरहेका छौं। त्यसैले भागिरथीको घटना निर्मला पन्तको जस्तो नहोस् भन्ने कामना गर्छौं। प्रहरी प्रशासनलाई गम्भीर भएर अनुसन्धान गर्न अनुरोध गरिरहेका छौं। हामीले सुर्खेतबाट भागिरथीको न्याय माग्नुको कारण भनेकै राज्यलाई जिम्मेवार बनाउनलाई हो।’

उनले अगाडि भनिन्,‘यदि भागिरथीले पनि निर्मलाको जस्तै गरी अन्याय भोग्नु पर्ने हो भने हामी जस्तो सुकै चुनौतीको सामाना गर्न तयार छौं।’ प्रदर्शनकारीहरुले बलात्कारीलाई फासी दे, नालायक गृहमन्त्री राजिनामा दे, महिला अधिकार सुनिच्शित गर जस्ता नारा लगाइएका छन्। उक्त घटनालाई निर्मला पन्तको घटना जस्तो तरिकाले तोडमोड नगरियोस् भन्दै उनीहरुले प्रहरीलाई अनुसन्धान गम्भीर बन्न आग्रह गरेका छन्।

भागरथी भट्टको न्यायको लागि देशभर विभिन्न किसिमका आन्दोलन दिन प्रतिदिन भईरहेका छन्। गत बुधबारदेखि वेपत्ता दोगडाकेदार गाउँपालिका–७ की भट्ट बिहीबार स्थानीय लवलेक सामुदायिक वनमा मृत फेला परेकी थिइन्। घटनाको थप अनुसन्धान जारी छ।