म्यान्मार ‘कू’: देशव्यापी हडताल, हजारौं‌ सहभागी



काठमाडौँ। म्यान्मारमा सैन्य कू को विरोध गर्न लगातार तेस्रो दिन दशौँ हजार मानिसहरू सडक प्रदर्शनमा उत्रिएका छन्।

सेनाको कदमको विरोधमा म्यान्मारमा दशकयताकै ठुला प्रदर्शनहरू भएका छन्। मुख्य सहर याङ्गोनमा देशव्यापी हडतालको स्वरूप दिने गरी वकिल, शिक्षक र निजामती कर्मचारीसहित विभिन्न पेसागत समूहहरू भेला भएका छन्।

राजधानी नेपिदअमा प्रहरीले प्रदर्शनकारीहरूलाई तितरबितर पार्न पानीको फोहोरा प्रयोग गरे पनि उनीहरूले प्रदर्शन जारी राखेका छन्। हालसम्म हिंसाका खबर आएका छैनन्।

गत सोमवार सेनाले निर्वाचित नेतृ आङ सान सू चीलगायत नेताहरूलाई हिरासतमा राखेको थियो। ११–सदस्यीय शासक परिषद् गठन गरेको सेनाले हालसम्म कुनै सार्वजनिक टिप्पणी गरेको छैन।

सेनाले यसअघिको निर्वाचनमा अनियमितता भएको आधारहीन दाबी गर्दै सत्ता हत्याएको थियो। साथै उसले म्यान्मारमा एक वर्षको सङ्कटकालको पनि घोषणा गरेको छ।