काठमाडौँ। नेकपा (नेकपा) प्रचण्ड–माधव पक्षको विद्यार्थी संगठन अनेरास्ववियूका नेताहरुहरुले प्रतिनिधि सभा विघटनविरुद्ध सिंहदरबार घेराउ गरेका छन्।
अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङको नेतृत्वमा काम चलाउ सरकारका प्रधानमन्त्री केपी ओलीलाई विरोध पत्र बुझाउन सिंहदरवार जाने क्रममा विद्यार्थीहरुलाई प्रहरीले रोकेपछि केही समय तनाव र्सिजना भएको थियो। तर आन्दोलनकारीहरुले सडकमै बसेर घेराउसहित नाराबाजी र प्रदर्शन गरेका थिए।
सहसंयोजक तामाङले केपी ओलीले प्रतिगमनकारी कदम चालेर संसद विघटन गरेको विषयमा ज्ञापन पत्र बुझाउन जादाँ नबुझेको भन्दै कडा आपत्ति जनाएका छन्।
उनले भनेका छन्, ‘केपी ओलीलाई अब हामीले प्रधानमन्त्री मान्दैनौं। उहाँलाई हामीले देशको प्रधानमन्त्री मान्नुपर्ने कुनै जरुरी छैन। सव्य भाषामा सम्मानीय प्रधानमन्त्री लेखेर तय गरिएको ज्ञापन पत्र, आफ्ना विचार राख्न खोज्दा जसरी उहाँले हामीलाई समय दिनु भएन। उहाँलाई हामीले किन मान्ने?’
उनले भने, ‘केपी ओली आजको लागि मात्रै प्रधानमन्त्री हो। उहाँ सधै प्रधानमन्त्री रहिरहनु हुँदैन। प्रधानमन्त्री कुर्ची रहिरहन्छ। अब हामी प्रतिगमनकारी सरकारका मन्त्रीहरुले जनताको करबाट उठेको पैसाको पेट्रोल हालेर धुवा उडाउने मन्त्रीलाई रोकिनेछ। शसक्त कारबाही गरिनेछ।’
उनले अगाडि भने, ‘हामीले सरकारका मन्त्रीहरुलाई बारम्बार सरकारी गाडि प्रयोग नगर्न र अनेरास्ववियूको आग्रहलाई गम्भीरताका साथ दिन आग्रह गरेका छौं। तर, पनि मन्त्रीहरुले प्रतिगमनकारी कदमलाई लिएर जनताका बीचमा भेला गर्ने र सरकारी गाडि प्रयोग गर्ने काम गरिरहका कारण अब हामीले कडा कारबाही गर्छौ। साथै अनेरास्ववियूलाई कडा कारबाहीमा उत्रिन अनुरोध गर्दछु।’