स्थानीय तहहरु भगिनी सम्बन्ध बढाउनमा तीव्र



काठमाडौँ। स्थानीय सरकार.गाउँपालिका र नगरपालिका) ले विदेशी स्थानीय सरकारसँग भगिनी सम्बन्ध बनाउन थालेको अढाई दशकभन्दा बढी भएको छ। पछिल्लो समयमा स्थानीय तहले यसलाई तीव्रता दिएका छन्।

हालसम्म २० स्थानीय तहले चार दर्जनभन्दा बढी विदेशी स्थानीय सरकारसँग भगिनी सम्बन्ध स्थापना गरेका छन्। त्यसमध्ये काठमाडौँ महानगरले मात्रै १७ वटा समकक्षीसँग सम्बन्ध कायम गरेको छ तर सम्बन्धित सरकारी निकाय वा मन्त्रालयसँग यसको यकिन आँकडा पाइँदैन।

स्थानीय तहलाई परिपत्र गरे पनि जानकारी नदिएको सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जनाएको छ। सरकारको पूर्वस्वीकृति लिएर विदेशी सहरसँग भगिनी सम्बन्ध स्थापना गर्नुपर्ने व्यवस्था भए पनि पालना नभएको र मन्त्रालयलाई जानकारीसम्म पनि नआउने गरेका कारण यससम्बन्धी कार्यविधि बनाउन थालिएको सो मन्त्रालयका उपसचिव प्रह्लाद कार्कीले जानकारी दिए।

मन्त्रालयले छनोट गरेको परामर्शदाताले काम सुरु गरिसकेको छ । दुईपक्षीय सहयोग र अनुभव आदानप्रदान तथा नागरिक कूटनीतिलाई प्रोत्साहन गर्न भगिनी सम्बन्ध राख्न थालिएको हो तर यस्तो सहयोग आदानप्रदान सीमित हुने गरेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ।