नेटवर्किङ व्यवसायको नाममा भारत प्रवेश गर्न लागेकी युवाती फिर्ता



पर्सा। सिन्धुपाल्चोकको पाँचपोखरी थङ्पाल गाउँपालिका–३ की २६ वर्षीया युवतीलाई शुक्रबार वीरगन्जस्थित नेपाल–भारत सीमा पार गर्नुअघि माइती नेपालका सीमा पहरेदारले केहीबेर सोधपुछ गरे।

भारतको पटनामा नेटवर्क कम्पनीमा काम गर्न जान लागेको बताएकी उनका साथमा दुई पुरुष पनि थिए। एक जना मामा र अर्का काकाको छोरा रहेको उनले जानकारी दिइन्।

उनीहरू भारतको विनर कम्पनीमा रोजगारीका लागि जान लागेका रहेछन्। तीमध्ये एक पुरुषले पटनामा नेटवर्किङ कम्पनीमा सेल्सम्यानको जागिरका लागि १ लाख ८५ हजार रुपैयाँ बैंकमा दाखिला गर्न जान लागेको बताए। त्यहाँ तालिम लिएपछि मासिक तलब ३५ हजार रुपैयाँ पाउने आश्वासन पाएको उनको भनाइ छ। ‘भारतमा राम्रो जागिर पाउने आशामा गाउँमा सयकडा ३ का दरले ब्याजमा ऋण काढी बाटो खर्च लिएर आएँ,’ युवतीले भनिन्, ‘पारिवारिक अवस्था कमजोर छ। श्रीमान् दीर्घरोगका बिरामी छन् । राम्रै आम्दानी हुने सुनेर भारत हिँडेकी हुँ।’

अविश्वसनीय व्यक्तिको भर परेर भारत जाँदा जोखिममा पर्ने देखेर माइती नेपालले तीनै जनालाई प्रहरीमार्फत घर फर्काउने प्रक्रिया अघि बढाएको छ। माइती नेपाल आवधिक गृहकी प्रमुख संगीता पुरी भारतीय नेटवर्किङ कम्पनीले आकर्षक कमाइको प्रलोभन देखाई तीन वर्षयता नेपाली युवालाई भारत बोलाएर मोटो रकम ठग्ने गरेको बताउँछिन् । ‘यो समस्या बढेको बढ्यै छ, नेटवर्किङ व्यवसाय के हो भन्ने कुराको सामान्य जानकारी नभएका पनि लहडमा ठूलो रकम खर्चेर असुरक्षित रूपमा भारत गइरहेका छन्,’ उनले भनिन्, ‘यो समस्या ठूलै रूपमा देखापरिरहेको छ।’

माइती नेपाल वीरगन्ज आवधिक गृहले मात्रै सन् २०१९ मा वीरगन्ज नाका हुँदै नेटवर्किङ व्यवसायमा संलग्न हुन भारत जाँदै गरेका २६ जनाको उद्धार गरेको थियो । २०७६ माघयता १४ युवायुवतीको उद्धार गरेको छ। तीमध्ये ६ महिला र अन्य पुरुष छन्। उनीहरू सिन्धुपाल्चोक, नुवाकोट, खोटाङ, उदयपुर, मोरङ र सुनसरी जिल्लाका हुन् ।

पुरीका अनुसार टाठाबाठा र यो व्यवसायमा संलग्न भइसकेकाले सोझासाझा युवायुवतीलाई ‘पैसाले पैसा तान्छ’ भन्दै नेटवर्किङमा लाग्न उत्प्रेरित गर्छन्। नेपालमा अवैध मानिएको व्यवसायको मूल उद्देश्य र कार्यशैली नबुझेका युवा यो जालोमा फस्दै छन् । उनीहरूबाट ५० देखि ६० हजार भारुसम्म लिने गरेको पाइएको छ। नेटवर्किङ व्यवसायमा जोडिएपछि लगानीको १० गुणा बढीसम्म आम्दानी हुने प्रलोभन दिने गरेको पाइएको पुरी बताउँछिन्।

पूर्वी नेपालका विराटनगर, झापा, धनकुटा, संखुवासभा, धरान, इटहरी क्षेत्रका महिला बनारसको आइकोन र गोरखपुरको बीडी नेटवर्किङ कम्पनीसँग जोडिन वीरगन्ज नाकाबाट भारत जाने गरेका छन्। यसबाहेक अरेन्ज, नेटवर्क, विनरलगायत कम्पनीसँग पनि उनीहरू संलग्न हुन्छन् । त्यस्ता व्यक्तिमा अधिकांश दलित, जनजाति र अशिक्षितहरू रहने गरेको पुरीले बताइन्।