काठमाडौँ। नेकपाको प्रचण्ड–नेपाल पक्षले माघ २२ गते आह्वान गरेको आमहड्तालका दिन अज्ञात समूहबाट ट्याक्सी जलाइएपछि चालकहरु आन्दोलित बनेका छन्।
शनिबार राजधानीकाे माइतीघर क्षेत्रमा ट्याक्सीसहित प्रदर्शनमा उत्रिएका चालकहरुले पेशागत सुरक्षाको माग गर्दै दोषीमाथि कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
‘नेपाल राष्ट्रिय मिटर ट्याक्सी व्यवसायी तथा चालक सेवा समाज’ को ब्यानरमा भएको विरोध कार्यक्रममा सहभागीहरुले राष्ट्रिय पुँजी लगानी भएको ट्याक्सीको सरक्षण गर्न माग गरेका थिए।
उनीहरुले टुटल पठाओ जस्ता सेवा बन्द गरिनुपर्ने, ट्याक्सी स्ट्यान्ड र शौचालयको व्यवस्था गरिनुपर्ने, कुनै पनि बहानामा सार्वजनिक सवारी साधन तोडफोड र आगजनी बन्द गरिनुपर्ने, ट्याक्सी व्यवसायीको लगानी सुरक्षित गर्नुपर्ने, यातायात क्षेत्रमा हुने गरेका गैरकानुनी धन्दा बन्द हुनुपर्ने जस्ता माग समेत गरेका थिए।