आमसभामा ओलीले किन लिए ‘फेक न्युज’ को साहारा?



काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले राजधानीको नाराहिटीमा आयोजना गरिएको आमसभामा फेरी पनि ‘फेक न्युज’ को साहरा लिएका छन्।

बिहिबार (प्रचण्ड–नेपाल) समूहले आह्वान गरेको आम हड्तालको निन्दा गर्ने क्रममा प्रधानमन्त्री ओलीले ‘फेक न्युज’ को सहारा लिएका हुन्। प्रधानमन्त्री ओलीले आम हड्तालको चर्को विरोध गर्दै आमसभाका भने, ‘सडकभरि तरकारी पोख्ने, ट्याक्सी जलाउने, के यही हो व्यवस्था?’

प्रधानमन्त्री ओलीले दाबी गरेको सडकभरी तरकारी छरपष्ट पारिएको घटना हडतालको भने होइन। ओलीले दाबी गरेका तस्बिरहरु प्रचण्ड-नेपाल पक्षलाई बदनाम गर्न भाइरल बनाइएका तस्वीर थिए। प्रधानमन्त्री ओलीले टिप्पणी गरेकाे मध्ये ट्याक्सी जलाएको दृश्य बाहेक प्रचण्ड–माधव समूहले घटाएका घटनासँग सम्बन्धित छैनन्।

ओली पक्षका साइबर सेनाहरुले बिहिबार प्रचण्ड–माधव समूहलाई बदनाम गर्नका लागि सार्वजनिक गरेका फेक तस्वीरमध्ये घिरौँला सडकमा फ्याँकिएको तस्वीर सर्लाही लालबन्दीका किसानले दुई वर्ष पहिले बिक्री नभएको तरकारी सडकमा फ्याँकेर आन्दोलन गरेको तस्वीर हो।

तरकारी फ्याँकिएको अर्को फोटो भारतका किसान आन्दोलनको हो। तर, आमसभामा प्रधानमन्त्री ओली भ्रममा परेको प्रष्ट देखियो। किनभने, बूढीआमैको तरकारी फ्याँकेको भन्ने प्रधानमन्त्री ओलीको आरोप आफ्नै साइबर सेनाले फैलाएको भ्रममा आधारित थियो।

यसअघि पनि ओलीले बारम्बार ओलीले फेक न्युजको सिकार भएका थिए। विपक्षिलाई भित्तामा पुर्याउनका लागि र जनताको मन जित्नका लागि पनि बारम्बार फेक न्युजको साहारा लिने गरेको टिप्पणी हुने गरेका छन्। प्रचण्ड-नेपाल समूहका नेता डा.भीम रावलले ‘महिलाको किड्नी’ भन्ने शब्द बोलेको भन्दै ओलीले बारम्बार त्यहि कुरा सार्वजनिक मञ्चहरुमा भाषणको विषय बनाएका थिए।

देशको प्रधानमन्त्री जस्तो व्यक्तिले फेक न्युजको साहरा लिएर जनतामा भ्रम फिजाउने कुरा पक्कै पनि शोभनीय होईन। तर, ओलीको पक्षमा निमार्ण गरिएको साइबर सेनाहरुले फेक न्युजहरु भाइरल बनाउने र ओली त्यहि न्युजको तत्थ्य नखोजी बोल्ने गर्नाले आलोचित बन्ने गरेका छन्। केही मान्छेहरुले ओलीको फेक न्युजको साहारा लिने बानीलाई प्रोपगाण्डाका रुपमा परिभाषित गर्छन्। पछिल्लो समयमा आफै सत्तामा आफै सडकमा शक्ति प्रदर्शनमा व्यस्त रहेका ओलीको थप आलोचना भइरहेको छ।