काठमाडौँ। ओलीपक्षीय नेता तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रचण्ड–माधव पक्षले मुलुकमा फेरि अराजकता सिर्जना गर्न खोजेको बताएका छन्।
शुक्रबार काठमाडौँमा आयोजित सभालाई सम्बोधन गर्दै नेता पोखरेलले ताजा जनादेशका लागि निर्वाचनको घोषणा गरेको अवस्थामा केही तत्त्वहरु निर्वाचन नगर्न भन्दै निर्वाचन आयोग पुगेर निर्वाचन नगर्न धम्की दिएर अस्थिरता मच्चाउन खोजिरहेको बताएका हुन्।
‘सम्पूर्ण चिजको फैसला गर्ने जनता भएकाले ताजा जनादेशका लागि जान प्रधानमन्त्रीले ऐतिहासिक घोषणा गर्नुभयो। हामी त्यही अभियानमा लागिरहेका छौँ,’ पोखरेले भने, ‘उहाँहरुले जुन अराजकता निम्त्याउन, आर्थिक विकासमा कमजोर बनाउन कुनै हालतमा सफल हुन दिने छैनौँ।’
संविधानको रक्षा र आर्थिक सम्बृद्धिका लागि पार्टी एकता गरेपनि त्यो सफल हुन नदिन प्रचण्ड माधव पक्ष लागिरहेको आरोप पोखरेलको भनाइ छ। ‘कम्युनिस्ट पार्टीलाई एक बनायौँ लामो समयदेखि जनताले चाहेको राजनीतिक स्थायित्व, सम्बृद्धिको बाटो खुल्छ, संविधानको रक्षा हुन्छ भनेर सोचेपनि त्यो सोचाइका विरुद्धमा जाने तत्त्व भए। जसले सम्मृद्धिको कुरालाई पछाडि पार्न र अराजकता निम्त्याउने प्रयास हुँदैछ। सफल हुन दिदैनौँ,’ पोखरेलको दावी छ।