‘३६४ दिन दलालको भक्तिगान गाउने, एकदिन मजदुरले दु:ख पाए भन्ने?’



काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (विप्लव) का नेता नरबहादुर कार्कीले ३६४ दिन दलाल र निगम पूँजीवादको भक्तिगान गाउनेहरुले एक दिनको बन्दमा मजदुरका बालबच्चाका लागि रोएको भन्दै ब्यङ्य गरेका छन्।

जीवन प्रशिक्षकसमेत रहेका कार्कीले बिहिबार सामाजिक सञ्जाल फेशबुक मार्फत ३६४ दिनमा एकाधिकार, दलाल र निगम पूँजीवादको भक्तिगान गाउनेहरुले बन्दको एकदिन मजदुरका बालबच्चाको लागि रोएको टिप्पणी गरेका हुन्। साथै यस्तो प्रकारको दोष देख्ने आँखाको फुलो निको होस् भन्दै व्यङ्ग्यात्मक कामनासमेत गरेका छन्।

उनले लेखका छन्, ‘तीन सय चौसट्ठी दिन एकाधिकार, दलाल र निगम पूँजीवादको भक्तिगान गाउने अनी बन्दको एकदिन मजदुरका बालबच्चाको लागि रुने तिम्रा आँखाको फुलो, ओठको अल्सर छिटो सन्चो होस्।’

बिहिबार नेकपा (प्रचण्ड-नेपाल) समूहले आमहड्तालको आह्वान गरेको थियो। बन्दको मारमा सर्वसाधारणहरु परेका थिए। केपी ओली पक्षको नेकपाले उक्त आम हड्तालको विरोध गर्दै मजदुर, किसान, गरिबहरुलाई सास्ति दिएको भन्दै प्रचण्ड र माधव नेपाल समूहको विरोध गरेको थियो। उक्त प्रसँगलाई लिएर नेता कार्कीले माथिको टिप्पणी गरेका हुन्।