‘प्रचण्ड-माधवलाई ओलीको चेतावनी,‘हप्की दप्की गर्ने होइन’



काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कानूनको पालना गर्न निर्देशन दिएका छन्।

नेकपाको प्रचण्ड–माधव समूह नियम तोड्ने, हप्की दप्की गर्न, धाकधक्कु गर्ने र कानून मान्दिन भन्दै प्रहरी प्रशासन तथा निर्वाचन आयोगलाई धम्की दिदै हिँडेको बताउँदै कानून मान्दिनँ भन्ने जमाना गएको टिप्पणी गरेका छन्।

बिहीबार काठमाडौँमा अखिल नेपाल किसान महासंघको राष्ट्रिय कार्यकर्ता भेलामा बोल्दै प्रधानमन्त्री ओलीले भने,‘कानूनको पालना गर्नुहोस् हप्की दप्की गर्ने होइन। पालना गर्न सिक्नुहोस् कानुनको। लोकतन्त्र भनेको कानूनको राज हो। बलमिच्याँईंको राज होइन। प्रचण्डलाई म सम्झाउन चाहन्छु, ती दिन गए जतिबेला तपाई संविधान मान्दिनँ, कानून मान्दिनँ भनेर उपद्रो मच्चाएर हिँड्नु भएको थियो।’

प्रचण्डले हामी यहाँ छौं भनेर अदालतलाई र निर्वाचन आयोगलाई धम्क्याएको ओलीको दाबी छ। आमहड्ताल आह्वान गरेर प्रचण्ड माधव समूहले जनतालाई दुःख दिएको र आफूहरु चाहिँ गाडी र मोटरसाइकलबाट जनताले पाएको दुखको तमासा हेर्दै हिँडेको ओलीले आरोप लगाए। उनले कार्यकर्ता नभई नेताहरु आफैं सडकमा उत्रिएको भन्दै व्यंग्य गरे।

उनले अगाडि भने, ‘बाटाका छेउमा ल्याएर बेचिराखेको तरकारी सडकभरी फ्याकेर क्रान्तिकारिता देखाउनुभयो। अरुका गाडी जलाउनु भो आफू गाडी सयर भएर तमासा हेर्दै जनताले कति दुख पाएका छन् हँ भनेर? गाडी चढेर तमासा हेर्दै हिड्नुभयो। कार्यकर्ता सिद्धिएछन् अनि आफैं हामी यहाँ छौ भन्ने एउटा टास्यो। अनि गाडी रोक भनेर को उभिएको छ भनेर हेरेको त प्रचण्ड उभिइराखेको। उभिएको कस्तो ठाउँमा फेरि सातदोबाटोमा। साइनबोर्ड लिएर। कार्यकर्ता छैनन् सिद्धिएछन्।’

‘शानदार बहुमत ल्याउनु पर्छ। कसैले ठान्ला पार्टी फुटेको छ कसरी बहुमत ल्याउँछ? ३ करोड मान्छेमा २/४ जना जाँदैमा पार्टी फुट्यो? आत्तिनुपर्दैन। मनोबल गिराउनु पर्दैन। हामी जित्न सक्छौं। विवाद गर्नेहरु, झगडा गर्नेहरु, झगडा गर्र्ने बानी परेकाहरु, मुद्धा लड्ने बानी परेका, सिँगौरी खेल्ने बानी परेका, भुइँ खोस्रिने बानी परेका, गालीगलौच गर्ने बानी परेका, मुख छाड्ने बानी परेका, जहिले जहाँ पुगेपनि निहुँ खोज्ने बानी परेका हटे। अब आन्दोलनलाई एकजुट बनाएर लाने हो।’

उनले भने, ‘आज कम्युनिष्ट आन्दोलनको सबैभन्दा ठूलो विरोधी को छ भने कम्युनिष्टकै बर्को ओडेर उ ह्वाँ बाटामा बसेको छ। कम्युनिष्टकै बर्को ओडेर बाटामा बस्ने र कम्युनिष्ट आन्दोलनकै सबभन्दा बढी विरोधी। लोकतन्त्र, कम्युनिष्ट आन्दोलन, कम्युनिष्ट एकताको विरोधी सबभन्दा को छ भन्दाखेरी कम्युनिष्टकै खोल ओढेकाहरु।’

तस्बिर: मुकुन्द कालिकोटे