आमहड्तालमा मुख्यमन्त्री शाही सहभागि



सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही बिहीबार आह्वान गरिएको आमहड्तालकाे समर्थनका लागि सडकमा निस्किएका छन्।

नेकपाको प्रचण्ड–माधव पक्षका केन्द्रीय सदस्यसमेत रहेका मुख्यमन्त्री शाहीले प्रदेश राजधानी सुर्खेत, वीरेन्द्रनगरको मंगलगढी चोकमा पुगेर पार्टीद्वारा आह्वानमा गरिएको आमहडतालप्रति ऐक्यबद्धता जनाएका हुन्। गत पुस ५ गते असंवैधानिक रुपमा गरिको प्रतिनिधिसभा विघटन र माघ २१ गते संवैधानिक निकायमा गरिएको गैरकानुनी नियुक्तिका विरुद्ध आफूहरु सडकमा आउन बाध्य बनेको मुख्यमन्त्री शाहीको भनाई छ।

मुख्यमन्त्री शाहीसँगै प्रदेश सरकारकी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दीसिंह बुढालगायत नेता कार्यकर्ताहरुले आमहड्तालमा उपस्थिति जनाएका छन्।

सर्खेतको आमहड्तालमा नेकपा (प्रचण्ड-नेपाल) समूहका नेता मोहनसिंह बडुवाल, अनेरास्ववियूकी नेता तिर्शना हमाल, ममता अधिकारीलगायत नेताहरुले सडक आन्दोलनलाई कमाण्ड गरेका थिए।

आमहड्तालका क्रममा प्रधानमन्त्री केपी ओलीको कार्यशैलीमाथि प्रश्न उठाउँदै प्रर्दशनकारीहरुले नाराबाजी गरेका थिए। बिहिबार दिनभर असंवैधानिक कदम खारेज गर, संवैधानिक आयोगको नियुक्ति खारेज गर, संसद विघटन खारेज गर जस्ता नाराहरु लागेका थिए।