तस्बिर: नेकपाका केस विष्णु रिजाल
काठमाडौँ। बिहिबार घोषित आम हड्ताल सफल पार्न नेकपा (नेकपा) का अध्यक्ष पुस्पकमल दाहाल (प्रचण्ड) सहितका शीर्ष नेताहरु सडकमा आएका छन्।
अध्यक्ष प्रचण्डले फागुन पहिलो साताबाट संयुक्त आन्दोलन हुने बताएका छन्। सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले हड्ताल आफूहरुको बाध्यता भएको बताएका छन्। सरकारले बलमिच्याई गरेर संवैधानिक निकायहरुमा नियुक्ति गरेकाले त्यसबारे जनतालाई जानकारी दिन सडकमा आउनु परेको उनले बताए।
यो लोकतन्त्र र लोकतन्त्र विरोधीको लडाइँ भएको भन्दै उनले भने, ‘यस्तो नभइदिए हुन्थ्यो भन्ने जनताको भावना हामीले बुझेका छौं, सम्मान पनि गर्छौं। तर, कहिले काँही यस्तो बाध्यात्मक अवस्था आउँछ। यो संविधानको रक्षाका लागि हो।’
संसद विघटन र संवैधानिक निकायमा भएको नियुक्तिको सबैले विरोध गरेको भन्दै प्रचण्डले अब अझ सशक्त आन्दोलन हुने बताए। उनले अघि भने, ‘हाम्रो सबैसँग कुरा भइरहेको छ। सम्भवत फागुन पहिलो हप्ताबाट संयुक्त आन्दोलन हुन्छ र त्यसले सबै लोकतन्त्रविरोधी र निरंकुशता पक्षपातिलाई बढार्छ।’
अध्यक्ष प्रचण्ड राजधानीको सातदोबाटो चोकमा निस्किएका छन् भने नारायणकाजी श्रेष्ठ रत्नपार्कको जुलुसमा सहभागि छन्। त्यस्तै पार्टीका शीर्ष नेता अष्टलक्ष्मी शाक्य, हितमान शाक्यलगायत नेताहरु पक्राउ परिसेका छन्। प्रचण्ड-नेपाल समूहले बिहीबार असंवैधानिक संसद विघटन र अवैधानिकरुपमा संवैधानिक आयोगमा नियुक्ति गरेको भन्दै आम हड्ताल गरेको छ। हड्ताल सफल बनाउन सबै शीर्ष नेताहरु सडकमै आएका छन्।
तस्बिर: मुकुन्द कालिकोटे