काठमाडौँ। बिहीबारका लागि घोषणा गरेको आमहड्तालमा उत्रिएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका नेता कार्यकर्ताहरु पक्रउ परेका छन्।
पार्टीका केन्द्रीय सदस्य तथा संघर्ष समितिका सदस्य विष्णु रिजालका अनुसार नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य, हितमान शाक्य, केकस अमृता थापालगायतका नेताहरूलाई प्रहरीले राजधानीको कलंकीबाट गिरफ्तार गरेको छ। काठमाडौँबाट ७० जना र भक्तपुरबाट १ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता (एसपी) सुशिल सिंह राठौरले जानकारी दिएका छन्।
गृहमन्त्रालयले बुधबार नै विज्ञप्ति जारी गर्दै निर्वाधरुपमा यातायात–व्यवसाय सञ्चालन गर्न आग्रह गरेको थियो। बिहीबार बिहानैदेखि बन्द गर्न हिँडेका प्रचण्ड–नेपाल समूहका कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरिरहेको छ। प्रहरीका अनुसार हालसम्म बन्द गराउँदै हिँडेका सोह्रखुट्टे क्षेत्रबाट १३ जना, महाराजगञ्जबाट १० र नयाँ बानेश्वरबाट ४ जना पक्राउ परेका छन्।
यता, बिहीबार बिहानै गोंगबुमा एउटा ट्याक्सीमाथि आगजनीसमेत भएको छ। दुई अज्ञात व्यक्तिहरुले ट्याक्सीमाथि आगजनी गरेको महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी अशोक सिंहले रातोपाटीलाई जानकारी दिए।
आमहड्तालका क्रममा अस्पताल, एम्बुलेन्स, पानी, दूध, औषधिलगायतका अत्यावश्यक सेवाहरुमा अवरोध नगर्ने प्रचण्ड–प्रचण्ड माधव पक्षले स्पष्ट पारेको छ। यस्तै विद्यार्थीहरुको परीक्षा सञ्चालनमा कुनै अवरोध नहुने र यातायात पसल, उद्योग व्यवसाय, कलकारखाना र शिक्षण संस्था बन्द हुने जानकारी दिइएको थियो।