काठमाडौँ। कांग्रेसले संसदीय सुनुवाइबिना नै संवैधानिक निकायका पदाधिकारी नियुक्ति गर्नुलाई सरकारको ‘सर्वसत्तावाद उन्मुख प्रवृत्तिको श्रृंखला’को संज्ञा दिएको छ।
न्युज एजेन्सी नेपालसँग प्रवक्ता विश्वप्रकाश शर्माले एकपछि अर्को संवैधानिक व्यवस्थालाई उल्लंघन गरेर सरकार ुसंविधानलाई विखण्डित गर्ने यात्राुमा अघि बढेको प्रतिक्रिया जनाएका हुन्।
प्रधानमन्त्री केपी ओलीले पार्टी भित्रको द्वन्द्व र दुई तिहाईको दम्भका कारण संविधानलाई विखण्डित गर्ने काम गरेको प्रवक्ता शर्माको आरोप छ।
‘संसदीय सुनुवाइपछि मात्रै नियुक्ति प्रक्रियालाई पूर्णता दिइने भन्ने हाम्रो संवैधानिक मर्म छ। त्यस प्रकारको व्यवस्था प्रस्ट छ। तर त्यो केही पनि नगरिकन आज एकाएक शपथग्रहण भयो। शपथग्रहण समारोह उपराष्ट्रपति स्वंयम्ले बहिष्कार गर्नुपर्ने, सभामुखको अनुपस्थित रहने, प्रमुख प्रतिपक्षी नेताको त स्वाभाविक रुपमा अनुपस्थिति रहने भो, ‘उनले भने, दुई तिहाईको दम्भ र द्वन्द्वका कारणले आज संविधानलाई नै विखण्डित गर्ने प्रकारको यात्रामा उहाँहरुले अगाडि बढाउनुभएको छ।
उनले संवैधानिक परिषद् सम्बन्धी विश्वव्यापी व्यवस्थालाई उल्लंघन गर्दै अध्यादेश ल्याउँदा नै आफूहरुले असहमति जनाएको र अध्यादेश फिर्ता नगरिकन हुने कुनै पनि बैठकमा प्रमुख प्रतिपक्षी दलका नेताको सहभागिता नरहने निर्णयका साथ गरेको स्मरण गराए। सरकारको सर्वसत्तावाद उन्मुख प्रवृत्तिविरुद्ध घनिभूत रुपमा संघर्षका कार्यक्रम सञ्चालन गर्ने उनको भनाइ छ।