काठमाडौँ। सरकार र नेकपा (प्रचण्ड-नेपाल) समूह आम्नेसाम्ने हुने देखिएको छ। बुधबार प्रचण्ड-नेपाल पक्षले पत्रकार सम्मेलन गरेर विद्यार्थी नेताहरुमाथि प्रहरीको दनम र संवैधानिक नियुक्तिको विषयलाई लिएर आमहड्तालको घोषणा गरेपछि गृहमन्त्रालयले बिहीबार पूर्ववत् रुपमै सार्वजनिक यातायातलगायत आ–आफ्नो उद्योगधन्दा, पेसा, व्यवसाय सञ्चालन गर्न आग्रह गरेको छ।
संवैधानिक निकायमा संसदीय सुनुवाइबिना पदाधिकारी नियुक्तिको विरोधमा नेकपा प्रचण्ड–नेपाल समूहले भोलि (बिहीबार) आम हड्तालको घोषणा गरेपछि गृह मन्त्रालयले बुधबार साँझ विज्ञप्ति जारी गर्दै दैनिक रुपमा सञ्चालित उद्योग, पेसा, व्यवसाय सञ्चालनमा कुनै बाधा अवरोध पुग्न नदिने गरी सुरक्षा व्यवस्था मिलाइने जानकारी गराएको हो।
मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘दैनिक रुपमा सञ्चालित उद्योग, पेसा, व्यवसाय सञ्चालनमा कुनै बाधा अवरोध पुग्न नदिने गरी सुरक्षा निकायबाट आवश्यक सुरक्षा व्यवस्था मिलाइने हसँदा यातायात व्यवसायी लगायत सबै उद्यमी व्यवसायीहरुलाई निर्धक्क एवं पूर्ववर्त रुपमा आ–आफ्नो उद्योगधन्दा, पेसा, व्यवसाय सञ्चालन गर्न गृहमन्त्रालय आग्रह गर्दछ।’
आन्दोलनका क्रममा शान्ति सुरक्षामा खलल पुग्ने, सार्वजनिक तथा निजी सम्पत्तिको तोडफोड, आगजनी, सार्वजनिक यातायात सञ्चालनमा अवरोध लगायतका अवाञ्छित गतिविधि गरेको पाइएमा त्यस्ता गतिविधमा संलग्नमाथि कारबाही गर्ने गृहको चेतावनी दिएको छ।