कक्षा १२ को नतिजासँगै स्नातक तहको भर्नामा प्रतिस्पर्धा



काठमाडौँ। राष्ट्रिय परीक्षा बोर्डले सोमबार कक्षा १२ को नतिजा सार्वजनिक गरेलगत्तै विभिन्न विश्वविद्यालयले स्नातक तहको भर्ना कार्यक्रम प्रारम्भ गर्न प्रतिस्पर्धा नै चलेको छ। सार्वजनिक नतिजाबाट झन्डै चार लाख ३३ हजारभन्दा बढी विद्यार्थीलाई एकै पटक उच्च शिक्षामा ढोका खुलेपछि विश्वविद्यालयहरूले भर्ना कार्यक्रम सुरु गर्नेभएका हुन्।

त्रिभुवन विश्वविद्यालयले स्नातक तहको शैक्षिक सत्र फागुनमा गर्ने निर्णय गरेको छ। शिक्षाध्यक्ष प्राडा शिवलाल भुसालले स्नातक तहको शैक्षिक सत्र फागुनमा प्रारम्भ गर्ने निचोडमा विश्वविद्यालय पुगेको जानकारी दिए। विश्वविद्यालयले तीन महिना पछि सारेर भर्ना कार्यक्रम सुरु गर्नेभएको हो। यसअघि मङ्सिरमा स्नातक तहको पहिलो वर्षको भर्ना गर्ने गरिएको थियो।

पोखरा विश्वविद्यालयले कक्षा १२ को नतिजा सार्वजनिक भएलगत्तै भर्ना सुरु गरिएको विश्वविद्यालयका उपकुलपति प्राडा प्रेमनारायण अर्यालले जानकारी दिए। विश्वविद्यालय मातहतका कलेजले भर्ना कार्यक्रम जारी राखेको र अब नतिजा आएलगत्तै आङ्गिक क्याम्पसमा समेत भर्ना खोलिने जनाइएको छ।

नेपाल संस्कृत विश्वविद्यालयले माघबाट स्नातक तहको भर्ना कार्यक्रम सुरु गर्ने निर्णय गरेको छ। संस्कृत विश्वविद्यालयमा शैक्षिक सत्र कहिलेबाट प्रारम्भ गर्ने भन्ने निर्णय विश्वविद्यालयको सभाबाट गर्ने परम्परा छ। विश्वविद्यालयका कुलसचिव माधव अधिकारीले माघबाटै स्नातक तहको पठनपाठन सुरु गरिने जानकारी दिए। विश्वविद्यालयले प्राकशास्त्री तह उत्तीर्ण गरेका विद्यार्थीलाई पुस महिनामै स्नातक तहमा भर्ना गरिसकेको छ। आजको गोरखापत्र दैनिकमा समाचार छ।