काठमाडौँ। अनेरास्ववियू (प्रचण्ड-नेपाल) समूहले केपी ओली सरकारको मतियार नबन्न आग्रह गर्दै स्थानीय तहलाई ज्ञापन पत्र बुझाएको छ।
संसद विघटनको विरुद्धमा आन्दोलनरत अनेरास्ववियूले स्थानीय तहको सरकारलाई प्रतिगमनकारी ओली सरकारको मतियार नबन्न अनुरोध गर्दै ज्ञापन पत्र बुझाएको हो।
माघ १८ गते आइतबार जारी गरिएको ज्ञापन पत्र उपत्यकाका विभिन्न स्थानीय तहका सरकारलाई बुझाएको संगठनकी नेता पञ्चा सिंहले कर्णाली सन्देशलाई जानकारी दिएकी छन्।
प्रतिगामी सरकारको मतियार नबन्न र जनताको करलाई दुरुपयोग नगर्न सुचित गराएको नेता सिंहको भनाई छ। नेता सिंहको नेतृत्वमा ललितपुर महानरपालिकाका मेयर चिरिबाबु महर्जनलाई ज्ञापन पत्र प्रदान गरिएको छ।
त्यस्तै अनेरास्ववियूका सह-संयोजक रञ्जित तामाङको नेतृत्वमा काठमाडौँ महानगरपालका र सुरेन्द्र बस्नेतको नेतृत्वमा भक्तपुरका स्थानीय तहका सरकारलाई ज्ञापन पत्र बुझाइएको छ। साथै अनेरास्ववियूको निर्देशन बाहिर गएर केपी ओली सरकारको भेला, कार्यक्रमका लागि सरकार गाडि र सरकारी सेवा प्रयोग गरेको खण्डमा कडा कारबाही गरिने चेतावनी दिएको छ।
ज्ञापन पत्रमा लेखिएको छ, ‘कामचलाउ सरकारले ज्ञानेन्द्रको झल्को दिने दिने गरी पञ्चर्याली आयोजना गर्न थालेको छ। यस्ता र्यालीहरुको व्यवस्थापनमा स्थानीय सरकारहरु लागेका र राज्यशक्ति र स्रोतको व्यापक दुरुपयोग भएको हामीले जनगुनासो सुनेका छौं। विकास निर्माणका काममा खर्च गर्नुपर्ने जनताको ढुकुटी दुरुपयोग गरी प्रतिगमनलाई सहयोग पुग्ने कुनै कार्य नगर्न हामी चेतावनी दिन चाहन्छौं।’
साथै संगठनले अर्को वर्षमा हुने स्थानीय तहको निर्वाचन अगावै आय–व्यय सार्वजनिक गर्नसमेत माग गरेको छ। जनताको सुशासनप्रतितको आकांक्षा पूरा गर्न अनेरास्ववियूले स्थानीय सरकारलाई अपील गरेको नेता सिंहको भनाई छ।
नेता सिंहका अनुसार स्थानीय तहमा ज्ञापन पत्र बुझाउने कार्यक्रम माघ १८ र १९ गते दुई दिन निर्धारण गरिएको छ। अनेरास्ववियूले संसद विघटनको विरोधमा यहि माघ १६ गते शहिद दिवसको दिनदेखि तेस्रो चरणको आन्दोलनमा उत्रेको छ।
तेस्रो चरणको आन्दोलनमा बालुवाटारमा धर्ना दिने, सरकारी गाडी चल्न दिने, मन्त्रीहरुलाई सार्वजनिक बहिस्कार गर्ने, ओली समूहको २३ गतेको भेलामा सरकारी गाडि प्रयोगमा रोक लगाउने लगायतका कार्यक्रमहरु सार्वजनिक गरेको छ।