बृहत् नागरिक आन्दोलनमाथि प्रश्न



आज धर्मभक्त माथेमाले शहादत प्राप्त गरेको ठाउँबाट उहाँलाई सम्झिँदै छौं। उहाँकै परिवार विश्वविद्यालयका मेरा गुरु केदारभक्त माथेमासँग बसेर सम्पूर्ण शहीदलाई सम्झिँदै छौं। तर समस्या के हो भने आज पनि हामी लोकतन्त्रकै चिन्ता गर्दैछौं।

अहिले खगेन्द्र संग्रौला लगायत अग्रजहरूको छत्रछायाँमा हामी आन्दोलनमा छौं। खगेन्द्र दाइ पनि आन्दोलनमा हुनुहुन्छ, हामी पनि आन्दोलनमा छौं र मेरा छोराको पुस्ता पनि आन्दोलनमा आइसकेको छ। नेपालमा लोकतन्त्रको लागि कतिले आन्दोलन गर्ने ? कुनकुन पुस्ताले आन्दोलन गर्ने रु आज सबैभन्दा ठूलो चिन्ताको विषय हो यो।

शहीदमाथिको विभेद

शहीदहरूलाई सम्झने क्रममा म शहीद दुर्गानन्द झालाई सम्झन चाहन्छु। २०१७ सालमा तत्कालीन राजा महेन्द्रले प्रजातन्त्रको अपहरण गरेपछि माघ २०१८ मा जनकपुर भ्रमण गर्नुभएको थियो । धनुषा निवासी दुर्गानन्द त्यतिबेला नेपाली कांग्रेसको युवा दस्तामा रहनुभएको थियो। पार्टीको निर्णयानुसार राजा महेन्द्रलाई बमले आक्रमण गर्ने दस्तामा उहाँ खटिनुभएको थियो। उहाँ जानकी मन्दिरको टोलीमा हुनुहुन्थ्यो। एयरपोर्टको टोलीले बम आक्रमण गर्न नसकेपछि जानकी मन्दिरमा सवारी हुँदा दुर्गानन्द झाले बम आक्रमण गर्नुभयो। तर त्यो बलले त्यति ठूलो क्षति भएन । राजा महेन्द्र सवार गाडीको झ्यालको सिसा मात्र फुट्यो। दुर्गानन्द त्यहाँबाट भाग्न सफल भई भारतको जयनगर गएर बस्नुभयो ।

तर दुर्गानन्दलाई भ्रममा पारेर जनकपुर बोलाइयो। विशेष अदालतले उहाँलाई फाँसी दिने निर्णय गर्‍यो। जसको न्यायाधीश भगवतीप्रसाद सिंह हुनुहुन्थ्यो । दुर्गानन्दलाई १५ माघ २०२० सालमा फाँसीमा झुण्डाइयो।

त्यसअघि नेपालमा ब्राहृमणलाई फाँसी दिनुहुन्न भन्ने मान्यता थियो। तर दुर्गानन्दलाई फाँसी दिनको लागि मुलुकी ऐन संशोधन गरिएको थियो। पहिलो मधेशी ब्राहृमणलाई फाँसीमा चढाइयो। तर त्यसअघि त्योभन्दा ठूला अपराध लगाइएकाहरूलाई समेत फाँसी दिइएको थिएन। मैले दुर्गानन्द झालाई यसकारण पनि सम्झिँदै  कि राज्यले मात्रै समाजमा विभेद गरेको थिएन। शहीदहरूमा पनि विभेद गरेको थियो।

०४६ सालको आन्दोलनमा धनुषाको यदुकोहामा पाँच जना एकैदिन मरेका थिए। जसमा तीन जना महिला थिए। तर नेपालको त्यो आन्दोलनको सहादतहरूको जब चर्चा हुन्छ, मधेशी यी नामहरू छुट्ने गर्छन्। म दुर्गानन्दलगायत सम्पूर्ण शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्दछु । यो लोकतन्त्रको आन्दोलन र यात्रामा मधेशको योगदानलाई पनि बिर्सने प्रयास नहोस्।

नेपालमा आन्दोलनहरूबाट स्थापित भएको व्यवस्थाले एउटा यस्तो समाज र राज्यको निर्माण हुन गयो। एक समुदाय धेरै अगाडि बढ्यो र अर्को मधेशी, आदिवासी जनजाति, दलितलगायतका सीमान्तकृत समुदाय धेरै पछाडि परे। जब त्यो समुदायको विषयमा काठमाडौंमा छलफल हुन्छ। सबै मधेशी, जनजाति, दलितलाई एक ठाउँमा राखेर हेर्ने गरिन्छ। मेरो विनम्र आग्रह के छ भने ती समुदायभित्र पनि विभिन्न खालका पात्रहरू छन्। दुर्गानन्द झा पनि त्यही समुदायका थिए र भगवती प्रसाद सिंह पनि त्यही समुदायका थिए। हामीले दृष्टिकोणमा परिवर्तन गर्नु जरुरी छ।

नागरिक आन्दोलनमाथि नै प्रश्न

प्रतिगमनविरुद्ध सुरु भएको बृहत् नागरिक आन्दोलमा आउन मन लागेको थिएन । हामीलाई आन्दोलनमा आउनुपर्‍योभन्दा यसमा समर्थन रहन्छ भनेका थियौं । तर भौतिक रूपमा उपस्थितिको विषयमा मधेशका साथीहरूको बीचमा एउटा चर्चाको विषय बन्यो ।

केपी ओलीले आजमात्र प्रतिगमन गरेको कसैलाई लागेको हुन सक्छ। तर हाम्रो नजरमा, मधेशीको नजरमा यो प्रतिगमन आज आएर मात्र भएको होइन । ओली एकदिनमा उदाएका होइनन्। आज काठमाडौंका मिडियाले यो आन्दोलनलाई समर्थन गर्नुभएको । नागरिक आन्दोलन प्रतिगमनकोविरुद्धमा छ । यहाँसम्म हामी साथ साथ छौं।

आजभन्दा दुई वर्ष अगाडि १० हजार कर्मचारीको लागि लोकसेवा आयोगले विज्ञापन खुलाएको थियो । जहाँ मधेशी, आदिवासी जनजाति, दलितको लागि चार हजार दुई सय सिट हुनुपर्ने थियो । तर बेइमानी गरेर दुई हजार सिट मात्रै राखियो । त्यतिबेला पनि केपी ओलीकै सरकार थियो । त्यतिबेलाको नागरिक समाज किन बोलेन रु त्यतिबेलाको मिडियाको व्याख्या के थियो रु हाम्रो मनमा यो प्रश्न थियो ।

त्यतिबेला हामी सर्वोच्च अदालतमा मुद्दा हाल्न पुग्यौं। तर सर्वोच्च अदालतले भन्यो, ‘प्रक्रिया धेरै अगाडि बढेको हुनाले अब यो विज्ञापन रद्द गर्न मिल्दैन । नागरिक समाजका क-कसले बोले यो विषयमा अबको नागरिक आन्दोलनमा सोचिनुपर्छ ।

तर हामी आज आएर एउटा निष्कर्षमा पुगेका छौं। हिजो सिएन थारुजीको नेतृत्वमा तराईका साथीहरू बसेका थिए, गोविन्द छन्त्यालजीको नेतृत्वमा जनजाति साथीहरू बसिरहेका छन्। जेवी विश्वकर्मा लगायतका साथीहरूले दलित साथीहरूलाई एकत्रित गर्दै हुनुहुन्छ । अहिले आएर हामी एउटा निष्कर्षमा पुगेका छौं।

अहिलेसम्मका सबै व्यवस्थाले एउटा समुदायको मान्छे मात्रै राज्यमा देखिने व्यवस्थाको निर्माण गर्‍यो । तर राज्य चल्नको लागि जुन राजस्वको संकलन हुन्छ त्यसमा हाम्रो पनि पसिना गएको छ । तलब खाने हाम्रो पैसाबाट, तलब खुवाउने ठाउँमा हामी किन छैनौं भन्ने प्रश्न हामीले गरेका थियौं । त्यसैले समावेशी संघीयताको कुरा गरेका थियौं, हामी निर्वाचन प्रणालीमा संशोधनका कुरा गरेका थियौं । हामी शिक्षा नीतिमा भाषाका कुरा गरेका थियौं, मधेशको मानिसको नागरिकता सहजतापूर्वक मिल्नुपर्छ भनेका थियौं । तर ती कुराहरू संविधानमा नपारिकनै माननीयहरूले जारी गर्नुभयो । हिजोको दिनसम्म त्यसमो हाम्रो विरोध थियो ।

तर जारी भएको संविधानले राजनीतिक स्थायित्वको कुरा गरेको छ । यो संविधानले एउटा सपना बोकेको छ कि जसले चाह्यो त्यसले संसद विघटन नगरोस् भनेर । यो संविधानले लोकतन्त्रका आधारभूत कुराहरूमा सहमति जनाएको छ । यो विघटनले नेपालको संविधानमा राजनीतिक स्थायित्वको सपनामाथि तुषारापात गरेको छ । त्यसकारण हामीले यसलाई प्रतिगमन मानेका छौं । हामी आन्दोलनमा पूर्ण प्रतिबद्धताका साथ सक्रिय सहभागिता जनाउन चाहन्छौं । तर हाम्रो मुद्दामा पनि काठमाडौंको नागरिक समाजले समर्थन गर्नुपर्छ । त्यो मुद्दा के हो त ?

धेरै साथीहरूलाई लाग्न सक्छ, लोकतन्त्र भएपछि देशमा सबै कुरा ठीक हुन्छ । गलत हो, लोकतन्त्र प्रणाली हो । कसैका लागि प्रणाली मात्रै सबै कुरा हुन सक्छ । तर सीमान्तकृतहरूको लागि परिणाम महत्वपूर्ण कुरा हो । लोकतन्त्र अभ्यास हुँदै गर्दा आज यो देशमा मधेशका लाखौं दलितहरू किन भूमिहीन भएका छन् रु किन यहाँको न्यायिक सेवामा १० प्रतिशत पनि जनजाति छैनन् रु मधेशी, दलित छैनन् रु यो प्रश्नको जवाफ कसले दिने रु तपाईंहरूको लागि लोकतन्त्र प्रणाली मात्रै महत्वपूर्ण हो, सीमान्तकृत समुदायको लागि परिणाम महत्वपूर्ण कुरा हो । अबको आन्दोलन हामीले परिणामको लागि पनि गर्नुपर्छ । तब मात्र हामी यो आन्दोलनमा साथसाथ रहन्छौं ।

अहिलेको संसदको पुनस्र्थापना होला । त्यसपछि फेरि आन्दोलन टुङ्िगने हो भने हामी परिणामको लागि गर्ने आन्दोलनमा एक्लै पर्नेछौं । यो देशमा विनोद चौधरीको लागि कुनै आन्दोलन हुनुपर्दैन, राणाजीलाई कुनै देशको राजदूत हुनको लागि कसैले आन्दोलन गर्न पर्दैन । तर एकजना दलित राजदूत बन्नको लागि धेरै आन्दोलन गर्नुपर्छ । तपाईं कुन आन्दोलन गर्ने यसको जवाफ तपाईंले दिन सक्नुपर्छ ।

हामीले खोजेको पञ्चायती निर्वाचन होइन

लोकतन्त्र नभएसम्म सीमान्तकृत समुदायले कुनै पनि अधिकार प्राप्त गर्न सक्दैन । यो कुरा इतिहास, अनुसन्धान, तथ्यले देखाएको छ । हामीले जे पाएका छौं त्यो प्रजातन्त्रको कारण मात्रै पाएका छौं । आज संसद विघटन गरेर प्रजातन्त्रको हत्या गर्ने काम भएको छ ।

आज संसद विघटन गरिँदैछ । भोलि संघीयतालाई विघटन गरिदिन्छ । पर्सि आरक्षण खारेज गरिदिन सक्छ, अर्कोदिन निर्वाचन प्रणालीलाई संशोधन गरेर समानुपातिकलाई हटाइदिन सक्छ । त्यसपछि पनि निर्वाचन भने भइरहन्छ । जुन निर्वाचनको कुरा शेरबहादुर देउवाजी कुरा गर्दै हुनुुहुन्छ । उहाँलाई विनम्रताका साथ आग्रह गर्न चाहन्छु कि देशमा पञ्चायत कालभरि ३० वर्षसम्म निर्वाचन भइराख्यो । राजा महाराजाहरूले एउटै कुरा भनिराखे कि आवधिक निर्वाचन हुन्छ, राष्ट्रिय पञ्चायतबाट प्रधानमन्त्री छनोट हुन्छ, त्यसकारण यो पनि प्रजातन्त्र हो । त्यतिबेला पनि अहिलेका प्रदीप ज्ञवालीले जस्तो दलविहीन प्रजातन्त्र भनिएको थियो । फेरि तपाईंहरू किन पञ्चायतको विरुद्ध आन्दोलनमा जानुभयो । तपाईंका नेता वीपी कोइरालाले किन आन्दोलन गर्नुभयो । किनभने त्यो लोकतान्त्रिक मूल्यमान्यताहरू नभएको व्यवस्था थियो ।

तपाईं केवल निर्वाचनको कुरा गर्नुहुन्छ, लोकतन्त्रमा निर्वाचनमा डराउनुहुन्न भन्नुहुन्छ भने तपाईंको बोली र कमल थापाको बोलीमा भिन्नता हुँदैन। शेरबहाुर र जसपाका महन्थ ठाकुरजीले आफ्नो स्ट्यान्ड क्लियर गर्नुपर्छ । निर्वाचनविरुद्ध डराउनुहुन्न भनेपछि किन तपाईंले प्रजातन्त्रको विरुद्धमा आन्दोलन गर्नुभयो? हामीले खोजेको प्रजातन्त्र भनेको राजनीतिक स्थायित्वको कल्पना गरेको संविधानलाई टकेर हुने निर्वाचन हो।

(राजनीतिक विश्लेषक साहले २०७७ माघ १८ गते आइतबार बृहत् नागरिक आन्दोलनलाई गरेको सम्बोधनको सम्पादित अंश)