जडीबुटीबाट बनेको औषधिमा विश्वास बढ्दो



सुर्खेत। सामान्य रोगका लागि पनि मानिसहरु ‘एलोपेथिक’ औषधिको प्रयोग गर्छन्। पछिल्लो समय आधुनिक औषधिको भरपर्ने हुँदा मान्छेले आयुर्वेदिक औषधिमा विश्वास मान्नै छाडिसकेका थिए। जब, नेपालमा कोरोनाभाईरस ९कोभिड–१९०को प्रकोप सुरु भयो, तब आयुर्वेदिक औषधितर्फ एकाएक मान्छेहरु आकर्षित हुन थाले।

आजभोलि जडीबुटीबाट बनेको औषधिको विश्वास मान्नेहरुको संख्यामा अत्यधिक वृद्धि भएको पाइन्छ। ‘जडीबुटीबाट बनेको औषधिले शरीरलाई राम्रो गर्ने र अन्य असर पनि खासै नगर्ने भएकाले पनि होला कर्णाली प्रदेशमा आयुर्वेद सेवा लिनेको संख्यामा निकै वृद्धि भईरहेको छ । विगतको तुलनामा आयुर्वेदसम्बन्धी जानकारी तथा सेवा लिनेहरुको संख्यामा वृद्धि भएको प्रदेश आयुर्वेद औषधालयको तथ्याङ्कले देखाएको छ।

गत आर्थिक वर्षमा आयुर्वेद सेवा लिनेको संख्यामा निकै वृद्धि भएको छ। अझ, कोभिड–१९ को प्रकोपसँगै आयुर्वेद सम्बन्धमा नागरिकहरुको आकर्षण बढेको आयुर्वेद चिकित्सकहरु बताउँछन्। कर्णाली जडीबुटीको भण्डार हो। यहाँ जडीबुटीबाटै समृद्धि हासिल गर्न सकिने अवस्था पनि नभएको होइन तर, जडीबुटीको प्रयोग भने गर्न सकिरहेको अवस्था छैन।

प्रदेश आयुर्वेद औषधालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७६र०७७ मा २८ हजार ३ सय ५५ जनाले जडीबुटीबाट बनेको औषधिको सेवा लिएका छन् । चालु आर्थिक वर्षको अन्तिमसम्म यो संख्यामा उल्लेख्य मात्रामा वृद्धि हुने देखिन्छ । आर्थिक वर्ष ०७५र०७६ मा २२ हजार ९ सय ९० जनाले आयुर्वेदिक सेवा लिएका थिए ।

आयुर्वेद औषधालयका प्रमुख डा। शंकरप्रसाद रिजाल भन्छन्, ‘पछिल्लो समय ओपिडी सेवा लिनेको संख्यामात्र १७ हजार ९ सय ३६ छ भने १० हजार ४ सय १९ जनाले अन्य सेवाहरु लिएको पाइन्छ ।’

रिजालका अनुसार यो वर्ष विभिन्न्न सचेतनामुलक कार्यक्रम सञ्चालन गरिएका कारण यसको प्रयोगकर्ता अझै बढ्ने देखिन्छ । उनी भन्छन्, ‘नागरिकहरुमा अझ उत्साह थपिएको छ ।’ कोभिडको आतंक, डरत्रासलाई न्यूनिकरण गर्न आयुर्वेदतर्फको जडीबुटीको सेवन गर्ने, योग ध्यान, जीवनशैली परिवर्तन र मनोसामाजिक परामर्श गर्ने काम गरिएको प्रमुख डाक्टर रिजाल बताउँछन् । गत आर्थिक वर्षमा ३ हजार ४७ नागरिकलाई यस प्रकारको काउन्सिलिङ गरिएको छ ।

कोरोनाका बिरामीलाई फाइदा हुने खालका गुर्जो, अमलालगायतका आयुर्वेदिक औषधिहरु निःशुल्क वितरण गर्ने काम भएको औषधालयले जनाएको छ । रिजाल विगतको तुलनामा अहिले आयुर्वेदको सेवा प्रवाह पनि बढेको बताउँछन् ।

कस्ता सेवाहरु पाइन्छ ?

हाल औषधालयले निःशुल्क ओपिडी सेवा, निःशुल्क औषधि वितरण, प्रयोगशाला सेवा, पञ्चकर्म सेवा, ज्येष्ठ नागरिक स्वास्थ्य रक्षा कार्यक्रम, स्तनपायी आमाका लागि निःशुल्क औषधिका रुपमा शतावरी र दशमुलारिष्ठ वितरण गरिरहेको छ।
यस्तै स्वास्थ्य जीवन कार्यक्रम, जीवनशैली व्यवस्थापन, जनचेतनामुलक एवम् आयुर्वेद सम्बन्धी, निःशुल्क स्वास्थ्य शिविर तथा विद्यालय आयुर्वेद शिक्षा लगायतका कार्यक्रम पनि सञ्चालन भईरहेका छन्।

सरकारको उपेक्षा

कालिकोटको पचाल गाउँपालिका–३ का तुलराज कठायत जडीबुटीकै खेती गर्छन्। विगत लामो समयदेखि उनी एउटा जडीबुटी प्रशोधन नामक संस्था स्थापना गरी जडीबुटीकै औषधिको कारोबार गर्छन्। उनी भन्छन्, ‘यो सरकारले आयुर्वेद विज्ञानलाई हेला गरिरहेको छ । जबकि यसबाटै कर्णालीको आर्थिक समृद्धिको बाटो खुल्न सक्छ।’

सरकारले जडीबुटी प्रशोधन र व्यावसायिक खेतीतर्फ आकर्षित गर्ने खालका कार्यक्रम सञ्चालन गर्नुपर्ने उनको भनाइ छ। हुन त कर्णालीका सबै क्षेत्रका नागरिक स्वास्थ्य सेवाको पहुँचमा पनि छैनन् । सो क्षेत्रका नागरिकहरु अझै पनि जडीबुटीको प्रयोगबाटै रोग निको पार्छन् । यद्यपि, सरकारले भने आयुर्वेद क्षेत्रलाई उपेक्षा गरिरहेको कर्णालीका आयुर्वेद चिकित्सकहरु बताउँछन् ।

प्रमुख आयुर्वेद चिकित्सक रिजालका अनुसार अहिले सुर्खेतमा रहेको प्रादेशिक कार्यालयबाहेक अन्य जिल्ला शाखामा व्यवस्थित सेवा छैन । विगतमा जिल्लामा रहेका कार्यालयहरुलाई शाखाका रुपमा परिणत गरिए पनि सेवा प्रवाहमा समस्या रहेको उनको भनाइ छ । प्रदेश सरकारले यसतर्फ ध्यान दिन नसकेको उनले बताए।

जडीबुटी प्रशोधनको सम्भावना

पूर्व वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले कर्णाली प्रदेशलाई जडीबुटीको ‘हब’का रुपमा विकास गर्ने गरी योजना निर्माणमा जुटेको बताउँदै आएका थिए । उनले कर्णालीका जिल्लाहरुमा जडीबुटी खेती तथा प्रशोधन केन्द्रमार्फत रोजगारीका अवसर सिर्जना गर्ने आश्वासन दिएका थिए । उनी सरकारबाट बाहिरिए, अवस्था र समस्या ज्युँका त्युँ छ।

कर्णाली प्रदेश जडीबुटी खेतीका हिसाबले मुलुककै सबैभन्दा बढी सम्भावना भएको क्षेत्र हो। कर्णालीमा यार्सागुम्बा, जटामसी, टिमुर, कुरिलोसहित बहुमूल्य जडीबुटी खेती गर्न सकिने र त्यसका लागि सरकारले ध्यान दिन नसकेको विज्ञहरु बताउँछन्। यहाँ पाईने बहुमूल्य जडीबुटी संकलन गरी प्रशोधन, एवम् आयुर्वेद औषधि उद्योग स्थापना गरी कर्णालीलाई आर्थिक, सामाजिक तथा स्वास्थ्य सूचकमा बढोत्तरी गर्न सकिने थुप्रै सम्भावना छन्।

कर्णालीका विभिन्न क्षेत्रमा कार्यरत आयुर्वेदिक चिकित्सकहरुको साझा आवाज छ– प्रदेशमा पाइने जडीबुटीहरुको प्रशोधनमा ध्यान दिनुपर्छ। आयुर्वेदतर्फ नागरिकहरुको आकर्षण बढ्न थालेकाले आयुर्वेदिक औषधि उत्पादनमा सरकारले विशेष ध्यान दिनुपर्ने उनीहरुको सुझाव छ।

सरकारले आयुर्वेदलाई पहिलो प्राथमिकतामा राखेर सहजरुपमा चिकित्सक भेटिने र उपचार पाउने व्यवस्था गर्नुपर्ने विज्ञहरु बताउँछन्। आयुर्वेद चिकित्सकहरु सरकारले आयुर्वेदलाई महत्व नदिएकाले आयुर्वेद उपचार पद्धतिबारे सर्वसाधारणलाई सकारात्मक जानकारी नभएको बताउँछन्। आयुर्वेदको विकास गर्न सरकारले गाउँपालिकादेखि आयुर्वेद चिकित्सकसहितको सेवा दिने व्यवस्था गर्नुपर्ने उनीहरुको भनाइ छ।

मानिसलाई अझै पनि आयुर्वेद उपचारमा ठूला शल्यक्रिया हुन्छन् भन्ने थाहा नभएकाले आयुर्वेदलाई प्राथमिकतामा राखेर सरकारले कार्यक्रम ल्याउनुपर्ने आयुर्वेद क्षेत्रका विज्ञ बताउँछन्।

प्रशोधन प्रस्ताव आह्वानको तयारी थाल्दै प्रदेश सरकार

यता कर्णाली प्रदेश सरकार भने जडीबुटी तथा जैविक स्रोत प्रशोधन सम्बन्धी प्रस्ताव आह्वानको तयारीमा रहेको बताउँछ । कर्णालीका दशवटै जिल्लामा भएको जडीबुटी तथा जैविक स्रोतको सम्भाव्यताका आधारमा प्रस्ताव आह्वान गर्ने प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्राललयले जनाएको छ।

प्रत्येक जिल्लामा जडीबुटी प्रशोधन, भण्डारण र बजारीकरण तथा उद्योग प्रवर्द्धनका लागि संघीय सरकारको सशर्त बजेट अन्तर्गत अहिले सबै जिल्लामा १०÷१० लाख रुपैयाँ विनियोजन गरिएको मन्त्रालयका सूचना अधिकारी शेरबहादुर रोकायले बताए । उनका अनुसार जडीबुटी पकेट क्षेत्रका अधारमा टिमुर, तेजपात, चिराइतोजस्ता जडीबुटीको खेती गरिने छ।

साभार: रातोपाटी