काठमाडौँ। खानेपानी मन्त्री मणि थापाले शनिबार सुर्खेतमा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा ‘श्री ५ को सरकार’ भनेकोमा माफी मागेका छन्।
शनिबार नेकपा ओली समूहले सुर्खेतमा आयोजना गरेको कार्यक्रममा बोल्ने क्रममा मन्त्री थापाले ‘श्री ५ को सरकार’ भनेर उच्चारण गरेपछि चौतर्फि आलोचना भएको थियो।
उनले आइतबार सामाजिक सञ्जाल फेशबुक मार्फत नेपाल सरकार भन्नुपर्नेमा भूलबस अन्यथा शब्द प्रयोग हुन गएको भन्दै क्षमा मागेका छन्। पूर्वमाओवादी पृष्ठिभूमिका नेता मणि थापा हाल ओली समूहमा लागेर खानेपानी मन्त्री बनेका छन्।
उनले लेखेका छन्, ‘नेपाल सरकार भन्नुपर्नेमा भुलवस अन्यथा भएको र त्यसलाई मैले तत्कालै सच्याएको यहाँहरु जानकार नै हुनुहुन्छ। आम नेपाली नागरिक, मेरो शुुभचिन्तक र नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्तामा त्यसबारे कुनै दुविधा नराखिदिनुहुन अनुरोध गर्दछु। मेरो पुरै राजनीतिक जीवन, क्रान्ति र परिवर्तनमा बिताएको र पश्चगमनका पक्षमा मेरो साथ नहुने कुरा विनम्रताका साथ अनुरोध गर्दछु। भुलबस ती शब्द प्रयोग हुन गएकोमा क्षमा चाहन्छु।’