प्रतिगमनको मतियार नबन्न स्यानीय तहलाई अनेरास्ववियूको चेतावनी



काठमाडौँ।संसद विघटनको विरुद्धमा आन्दोलनरत प्रचण्ड–माधव नेपाल समूह निकट अनेरास्ववियूले स्थानीय तहको सरकारलाई प्रतिगमनको मतियार नबन्न अनुरोध गरेको छ।

आइतबार एक विज्ञप्ति जारी गरेर प्रतिगामी सरकारको मतियार नबन्न र जनताको करलाई दुरुपयोग नगर्न सुचित गराएको छ। साथै अनेरास्ववियूको निर्देशन बाहिर गएर केपी ओली सरकारको भेला, कार्यक्रमका लागि सरकार गाडि, रकमलगायत सरकारी सेवा प्रयोग गरेको खण्डमा कडा कारबाही गरिने चेतावनी दिएको छ।

गत पुस ५ गते संसद विघटन भएपश्चात आन्दोलिन बनेको अनेरास्ववियूले सकारको प्रतिगमनकारी कदमको मतियार नबन्न र स्रोत साधनको बजेट दुरुपयोग नगर्न आग्रह गर्दै स्थानीय तहका सरकारहरुलाई ध्यानाकर्षण गराउने र ज्ञापनपत्र बुझाउन थालिएको सह संयोजक रञ्जित तामाङले जानकारी दिएका छन्।

स्थानीय तहमा बुझाउने ज्ञापन पत्रमा लेखिएको छ, ‘कामचलाउ सरकारले ज्ञानेन्द्रको झल्को दिने दिने गरी पञ्चर्‍याली आयोजना गर्न थालेको छ। यस्ता र्‍यालीहरुको व्यवस्थापनमा स्थानीय सरकारहरु लागेका र राज्यशक्ति र स्रोतको व्यापक दुरुपयोग भएको हामीले जनगुनासो सुनेका छौं। विकास निर्माणका काममा खर्च गर्नुपर्ने जनताको ढुकुटी दुरुपयोग गरी प्रतिगमनलाई सहयोग पुग्ने कुनै कार्य नगर्न हामी चेतावनी दिन चाहन्छौं।’

साथै संगठनले अर्को वर्ष हुने स्थानीय तहको निर्वाचन अगावै आय–व्यय सार्वजनिक गर्नसमेत माग गरेको छ। जनताको सुशासनप्रतितको आकांक्षा पूरा गर्न अनेरास्ववियूले स्थानीय सरकारलाई अपील गरेको तोमाङको भनाई छ।

तामाङका अनुसार स्थानीय तहमा ज्ञापन पत्र बुझाउने कार्यक्रम माघ १८ र १९ गते दुई दिन निर्धारण गरिएको छ। अनेरास्ववियूले संसद विघटनको विरोधमा यहि माघ १६ गते शहिद दिवसको दिनदेखि तेस्रो चरणको आन्दोलनमा उत्रेको छ।

तेस्रो चरणको आन्दोलनमा बालुवाटारमा धर्ना दिने, सरकारी गाडी चल्न दिने, मन्त्रीहरुलाई सार्वजनिक बहिस्कार गर्ने, ओली समूहको २३ गतेको भेलामा सरकारी गाडि प्रयोगमा रोक लगाउने लगायतका कार्यक्रमहरु सार्वजनिक गरेको छ।