काठमाडौँ। चीनका नामी बैंकर तथा उद्योगपति लाई सिओमिनलाई शुक्रबार मृत्युदण्ड दिइएको छ।
भ्रष्टाचार गरेको पुष्टि भएपछि सिओमिनलाई मृत्युदण्ड दिइएको साउथ चाइना मर्निङ पोस्टले सामाचार प्रकाशित गरेको छ। उनलाई कुन माध्यमबाट मृत्युदण्ड दिइयो भनेर केही खुलाइएको छैन।
भ्रष्टाचारविरुद्धको अभियान अन्तर्गत उनले सजाय पाएका हुन्। सन् २०१८ मा गिरफ्तार भएका लाई सिओमिनमाथि दश वर्षको अवधिमा २८० मिलियन अमेरिकी डलर घुस लिएको आरोप लागेको थियो। घुस लिएको पुष्टि भएसँगै उनीमाथि तियानजिनको अदालतले गत जनवरी ५ मा मृत्युदण्डको सजाय दिएको थियो।
अदालतले उनको अपराधले देशको हितमा ठूलो क्षति पुर्याएको बताएको थियो। सिओमिन चीनका वरिष्ठ अर्थशास्त्री थिए साथै उनी नामी बैंकर पनि थिए। उनले पिपुल्स बैंक अफ चाइनाको विभिन्न पदमा रहेर काम गरेका थिए। चिनियाँ अधिकारीहरुका अनुसार सिओमिनले चाइना हुवारोङ एसेट म्यानेजमेन्टको प्रमुख हुँदा घुस लिएका थिए।