‘लोकतान्त्रिक गणतन्त्र बचाउन सडकमा आएका हौं’



काठमाडौँ। अनेरास्ववियूका केन्द्रीय नेता सुदेश पराजुलीले प्रधानमन्त्री केपी शर्मा ओली कमेडीबाट माथि उठेर बरबराउन थालेको टिप्पणी गरेका छन्।

अनेरास्ववियूले तेस्रो चरणका कार्यक्रमहरु सार्वजनिकका लागि आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले प्रतिगमनकारी ओली सरकारलाई बयल गाडाको संज्ञा दिदै गणतन्त्र बिरोधिका रुपमा चित्रण गरेका छन्। ओली पछिल्लो समयमा नाटक र कमेडी छोडेर बरबराउन थालेको उनको टिप्पणी थियो।

उनले भने, ‘केपी ओली बयलगाडावादी हुन्। कमेडी हुन्। भलै अचेल कमेडीभन्दा पनि बरबराउन थाल्नु भएको देखिन्छ। उनी गणतन्त्र विरोधी हुन्। ओलीलाई संविधान पढ्न आउँदैन। त्यसैले हामीले लाल्टिन आन्दोलन गरेका थियौं। संविधान पढेर सुनाएका थियौं। तर, पनि उहाँ सुध्रिनु भएन। त्यसैले हामीले दोस्रो चरणका सशक्त आन्दोनहरु सार्वजनिक गर्न बाध्य भएका छौं।’

नेता पराजुलीले विश्व विद्यालयलाई तहसनहस पार्ने काममा लागेको भन्दै सरकारको चर्को विरोध गरेका छन्। उनले भने, ‘प्रतिगमनकारी सरकारले शिक्षा क्षेत्रलाई तहसनहस पार्ने काम गरेको छ। विद्यार्थीहरुको हकहतिका बारेमा सरकार जिम्मेवार छैन। शिक्षा, स्वास्थ्य, लोकतान्त्रिक गणतन्त्र बचाउन हामी सडकमा आएका छौं। आन्दोलन घोषणा गरेका छौ।’