निर्वाचन आयोगमा नेकपा दुई पक्षका आ-आफ्नै दाबी



काठमाठडौैँ। आफ्ना शीर्ष नेताहरू राजनीतिक कार्यक्रममा उपत्यका बाहिर रहेको भन्दै नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड–माधव कुमार नेपाल समूह निर्वाचन आयोगले बोलाएको छलफलमा भाग नलिई फर्किएको छ।

उक्त समूहले आफ्नो अध्यक्ष स्वयं निर्वाचन आयोगले बोलाएको छलफलमा उपस्थित हुन चाहने भन्दै माघ १८ गतेपछि छलफलको आयोजना गर्न प्रमुख निर्वाचन आयुक्तलाई पत्र मार्फत जानकारी गराएको छ।

उक्त पत्र लिएर राजेन्द्र पाण्डे, लीलामणि पोखरेलसहित उक्त समूहका नेताहरू निर्वाचन आयोग पुगेका थिए। निर्वाचन आयोगले दल दर्ताको सूचना प्रकाशन र चुनावको हालसम्म भएको तयारीका सन्दर्भमा छलफल गर्न नेकपाका दुवै पक्षलाई बोलाएको थियो।

ओली पक्षका तर्फबाट अर्थमन्त्री विष्णु पौडेल, नेता सुवास चन्द्र नेम्वाङसहितका नेताहरू निर्वाचन आयोगमा पुगेका थिए। निर्वाचन आयोगका पदाधिकारीसँग छलफलपछि नेता नेम्वाङले आफूहरूले दल दर्ता सम्बन्धी प्रक्रिया अघि बढाएर चुनावमा लाग्न सुझाव दिएको संवाददाताहरूलाई बताए।

दुवै समूहले निर्णय गरेर दलभित्र गरेको हेरफेरलाई हालै निर्वाचन आयोगले अमान्य घोषणा गरेको थियो। नेकपाको दुवै पक्षले आफ्नो समूहले वैधानिकता पाएको बताइरहेका छन्। प्रतिनिधिसभा विघटन गर्ने क्रममा गएको पुस ५ गते सरकारले आगामी वैशाखमा १७ र २७ गते दुई चरणमा चुनाव गर्ने घोषणा गरेको थियो।