अदालतका बारेमा बोल्दैनौं भन्नेहरु कायर हुन्: गगन थापा



काठमाडौँ। नेपाली काङ्ग्रेसका युवा नेता गगन थापाले रामशाहपथबाट परपर भाग्ने र अदालतका बारेमा बोल्दैनौं भन्नेहरुलाई कायरको संज्ञा दिएका छन्।

नेपाली कांग्रेस काठमाडाैँ क्षेत्र नम्बर ६ को आयोजनामा आयाेजित विरोधसभामा बाेल्दै नेता थापाले संसद विघटनको बारेमा मुद्दा अदालतमा बिचाराधिन रहेको बेला किन बाेल्न नहुने ? भन्दै उक्त टिप्पणी गरेका हुन्।

उनले भने, ‘बीपी कोइरालाको पार्टीका कार्यकर्ता हौं। जसले अदालतको चार किल्लाभित्र न्यायको हत्या नहोस् भन्नुभएको थियो। पञ्चयतका बेलामा बोलेका बीपीका कार्यकर्ता आज रामशाहपथ देखेर परपर भाग्ने र अदालतबारे बोल्दैनौं भन्छन् भने ती कायर हुन्। अब अदालतले यो भन्दा दायाँ बायाँ फैसला गर्दैन भन्ने हाम्रो विश्वास छ। गर्न सक्दैन र मिल्दैन पनि।’

उनले अगाडि भने, ‘संसदले अदालतको सम्मान राख्यो। अब अदालतले संसदको सम्मान राखोस्। हामी श्रीमानहरुलाई भन्न चाहन्छौं, तपाईहरु संविधान पल्टाएर हेरिराख्नु भएको छ, अक्षरहरु पढिराख्नु भएको, हेर्ने त्यही हो। तर संविधानका धाराहरु शून्यबाट आएका होइनन्। अदालत कल्पना र भावनामा बग्न मिल्दैन।’

दुबै संविधानसभाको सदस्य भएको उल्लेख गर्दै थापाले नेपालको संविधानमा बहुमत प्राप्त प्रधानमन्त्रीले संसद भंग गर्न पाउने व्यवस्था नै नगरेको जिकिर गरे। उनले भने, ‘बहुमत प्राप्त प्रधानमन्त्रीलाई सरकार चलाउन मन लागेन भन्ने के गर्ने भन्ने चिन्ता बेलाबेला अदालतमा व्यक्त हुने गरेको छ। खरुक घर जाने, घर बस्न नगए, वन जाने। त्यो भन्दा अर्को बाटो संविधानमा छैन।’

‘उनले अगाडि भने, यदि बहुमत प्राप्त प्रधानमन्त्रीले संसद विघटन गर्न पाउँछ भन्ने लेख्नुपर्छ भन्ने लागेको भए २०४७ को संविधानको धारा ५३ मा जस्तो लेखिहाल्थ्यौं। यति प्रष्ट हुँदाहुँदै संविधानको व्याख्या तलमाथि हुन्छ भने प्रश्न उठ्छ श्रीमान्।’ यदि अहिलेको संसद विघटन सदर हुने हो भने निर्वाचनको अपमान हुने थापाले बताए।

नेता थापाले न्याय माग्दा अदालतको अपहेलना हुने भए आफूहरूलाई मुद्दा लगाउनसमेत आग्रह गरे। उनले भने, ‘पूर्व-प्रधानन्यायाशीशहरूले अदालतको ‘अ’ पनि उच्चारण नगरेर संसद विघटनले राम्रो सन्देश नदिएको बताएका थिए। उनीहरुलाई एक साताभित्र आफैं उपस्थित भएर लिखित बयान पेश गर्न भनिएको छ। न्याय माग्दा अदालतको अपहेलना हुने भए हामीलाई पनि अवहेलनाको मुद्धा लगाईयोस्।’

अदालतलाई दायाबाँया, वरपर कतै नहेरर संविधान सम्वत निर्णय गर्न अनुरोध गरेका थापाले संविधानमाथि घात भएकोले यो कदम सच्याउन सबै एकजुट हुनुपर्नेमका जोड दिएका छन्। उनले भने, ‘यो प्रतिनिधि सभाको होइन संविधानकै विघटन हो।’

प्रधानमन्त्री ओलीले राजाहरूले जस्तै जनताको अधिकार खोसेका छन्। ओलीको नाम अधिकार खोस्ने शासकका पङ्तिमा लेखिनेछ। जनताका अधिकारका लागि लड्नेहरूको पानामा तपाईंको नाम भेटिँदैन।’ कांग्रेसले चुनावको हिसावको कुरा गरेर बस्न नहुने नेता थापाको भनाई छ।