काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्ष निकट अनेरास्ववियूले संसद विघटनका विरुद्धमा तेस्रो चरणका आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको छ।
शुक्रबार संगठनको केन्द्रीय कार्यालय बागबजारमा पत्रकार सम्मेलन गरेर प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगामी कदमविरुद्ध अनेरास्ववियूले तेस्रो चरणका आन्दोलनका कार्यक्रम घोषणा गरेको हो।
जसमा मन्त्रीहरुलाई सार्वजनिक बहिस्कार गर्ने, सरकारी नम्बर प्लेटका गाडीहरु चल्न नदिने, स्थानीय तह र प्रधानमन्त्रीसमेतलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेका छन्।
त्यस्तै कालो झण्डा देखाउने, चक्का जाम गर्ने, माघ २३ गते ओली पक्षले आयोजना गरेको कार्यक्रममा सरकार प्लेटका गाडि प्रयोग गर्न नदिने, विविभन्न पक्षहरुसँग छलफललगायतका कार्यक्रमहरु पनि तय गरेको अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले पत्रकार सम्मेलनमा जानकारी दिएका छन्।
पत्रकार सम्मेलनमा संगठनका केन्द्रीय नेताहरु सुदेश पराजुली, पञ्चा सिंह, सुरेन्द्र बस्नेतलगायतको उपस्थिति थियो। उनीहरुले ओली सरकारको प्रतिगमन रोक्नका लागि आफूहरु सडकमा आएको स्पष्ट पारेका छन्।
तस्बिर: मुकुन्द कालिकोटे