काठमाडौँ। प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिटको सुनुवाई गरिरहेको संवैधानिक इजलासमा बिहीबार बहुचर्चित गीत ‘न बिर्सेँ तिमीलाई, न पाएँ तिमीलाई’ बोलको गीतको दुई पंक्तिको चर्चा भएको छ।
वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले उक्त गीतलाई नेपालको संविधानसँग तुलना गरेर स्मरण गरेका छन्। पहिलो संविधानसभाको समयमा उक्त गीत निकै चर्चित रहेको भन्दै उनले एउटा प्रसंग स्मरण गराएका हुन्। उनले भने, ‘एउटा गीत छ श्रीमान् अन्जु पन्तको न बिर्सें तिमीलाई न पाएँ तिमीलाई भन्ने जो निकै व्यापक भएको थियो, प्रधानमन्त्रीको लिखित जवाफ देखेर मलाई त्यही याद आयो।’
त्यो बेला माओवादी फरक पृष्ठभूमिबाट आएको तर, उसकै एजेण्डाअनुसार संविधानसभाको निर्वाचन भएर पनि संविधान बन्न नसक्ने अवस्था सिर्जना भएपछिको परिस्थितिसँग उक्त गीतका उल्लेखित हरफ मेल खाने उनको भनाइ थियो।
तर, दोस्रो संविधानसभाबाट संविधान बनेको र त्यो संविधानले प्रतिनिधिसभा विघटन परिकल्पना नगरेको उनले जिकिर गरे। वरिष्ठ अधिवक्ता घिमिरेले पहिलाका चारवटा विघटन सिफारिसको जगमा नयाँ संविधानमा प्रतिनिधिसभा विघटनसम्बन्धी प्रावधान नराखिएको बताए।
उनले भने, ‘तत्कालीन प्रधानमन्त्रीहरु गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी, सूर्यबहादुर थापा र शेरबहादुर देउवाले गरेको प्रतिनिधिसभा विघटनकाृ सिफारिसको जगमा यो संविधानमा त्यस्तो व्यवस्था गरिएको हो।’
प्रतिनिधिसभाको मुख्य नेता मानिने सभामुखलाई समेत थाहा नदिइ विघटनको सिफारिस गरिएको जिकिर गर्दै उनले यस्तो कार्य व्यवहारिक नभएको र न्यायको सिद्धान्त अनुसार पनि नरहेको दावी गरे।
प्रतिनिधिसभा विघटनको सिफारिस अनिश्चयात्मक रहेको भन्दै उनले राष्ट्रपतिले यस्तो अनिश्चयात्मक सिफारिस आउँदासमेत कानुनविद्हरुसँग छलफल नगरी प्रमाणीकरण गरेको भन्दै उक्त कार्यले संविधानको मर्मलाई कुल्चिएको बताए।
साथै इजलासमा बहस गर्ने कानुन व्यवसायीलाई बिहीबार समयसीमामा कडाइ गरिएको छ। बुधबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले विषयको गम्भीरतालाई ध्यानमा राख्दै कानुन व्यवसायीहरुलाई बढीमा १५ मिनेटभित्र बहस टुंग्याउन निर्देशन दिएका थिए। बिहीबार इजलासमा सोही हाराहारीमा वकिलहरुले बहसका लागि समय पाएका छन्।