ओलीका तानाशाही कदमविरुद्ध प्रतिवाद गर्न निर्देशन



काठमाडौँ। नेकपा (प्रचण्ड–माधव) पक्षले प्रतिनिधिसभा विघटनका विरुद्धमा आगामी माघ २८ गते काठमाडौँ विशाल जनप्रदर्शन गर्ने भएको छ।

बिहिबार बसेको केन्द्रीय संघर्ष समिति सचिवालयको बैठकले आगामी माघ २८ गते काठमाडौँमा आयोजना गरिएको जनप्रदर्शनलाई हालसम्मकै विशाल ह्ने जिकिर गरेको छ। उक्त सभा सम्पनन गर्न समूहले कार्ययोजनासहितका निर्णयहरु गरेको संघर्ष समितिका सदस्य तथा पार्टी केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिएका छन्।

बैठकले प्रतिगमनविरुद्धमा जारी आन्दोलनले देशव्यापी जागरण पैदा हुँदै गएको ठहर गरेको छ। साथै आन्दोलनलाई अझ उचाइमा पुर्याउनुपर्नेमा जोड दिएको छ। बैठकमा अध्यक्षद्वय प्रचण्ड र माधव नेपालले आन्दोलनमा प्राप्त समर्थनका लागि सबैलाई धन्यवाद दिएका छन्।

संविधान, लोकतन्त्र, गणतन्त्र, संघीयता र समानुपातिक प्रणालीको रक्षाका लागि आन्दोलन अपरिहार्य रहेकाले आफूहरु सडकमा आएको प्रचण्ड-नेपालले स्पष्ट पारेका छन्। उनीहरुले यस अवस्थामा जनपरिचालन गर्नुको विकल्प नरहेको बताएका छन्।

अध्यक्षद्धयले सम्बोधनका क्रममा संविधान भत्काएर केपी ओलीले चाल्न सक्ने कुनैपनि तानाशाही कदमको सशक्त प्रतिवाद गर्न तयार रहन कार्यकर्ता पंक्तिलाई निर्देशन दिएका छन्। गत पुस ५ गते प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा भंगगर्दै आगामी वैशाख १७ र २७ गते निर्वाचन घोषणा गरेपछि प्रचण्ड-नेपाल समूह आन्दोलित बनेको छ। साथै संसद विघटनको चौतर्फि विरोध हुँदै आएको छ।