यात्रुवाहक बसमा आगलागी हुँदा ५३ जनाको ज्यान गयो



काठमाडौँ। एक यात्रुवाहक बसमा आगलागी हुँदा क्यामरुनमा ५३ जनाको मृत्यु भएको छ। २९ जना गम्भीर घाइते भएका छन्।

पेट्रोलियम पदार्थ बोकेको ट्यांकरसँग ठोक्किएर बुधबार बसमा समेत आगलागी भएको हो। सो दुर्घटनामा परी मृत्यु भएकाहरूको शव जलेकाले पहिचान गर्न कठिन भएको स्थानीय अधिकारीहरुले जनाएका छन्।

देशको मध्य पश्चिमी क्षेत्रमा पर्ने क्लिफ अफ डिस्चाङ भन्ने स्थानमा स्थानीय समयअनुसार बुधबार दिउँसो ३ः३० बजे दुर्घटना भएको अधिकारीहरूले जनाएका छन्। दुर्घटनामा परेको बसमा ७० सिट रहेको थियो।

सरकारी अधिकारीहरूले दुर्घटनाका बारेमा अनुसन्धान भइरहेको जानकारी दिएका छन्। प्रारम्भिक विवरणअनुसार पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकरका चालकले नियन्त्रण गुमाएकाले दुर्घटना भएको देखिएको छ।