बुधाबार मात्रै नौ हजारले बुधबार लगाए खोप



काठमाडौँ। कोभिड–१९ को विरुद्धको खोप ‘कोभिशिल्ड’ बुधबार देशभरि नौ हजारभन्दा बढीले लगाएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले बुधबार देशभरि नौ हजार ८४ जनाले खोप लगाएको जानकारी दिए । बुधबार भारत सरकारबाट अनुदानमा ल्याइएको कोभिशिल्ड खोपको शुभारम्भ प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन्।

प्रवक्ता प्रा.डा. गौतमका अनुसार प्रदेश नं १ मा एक हजार २५५ जना, प्रदेश नं २ मा ७२६ जना, वाग्मती प्रदेशमा दुई हजार ६९४ जना, गण्डकी प्रदेशमा एक हजार ८४३ जना, लुम्बिनी प्रदेशमा ७३३ जना, कर्णाली प्रदेशमा ७५१ जना र सुदूरपश्चिम प्रदेशमा एक हजार ८२ जनाले खोप लगाएका छन्।

सरकारले चार लाख ३० हजार जनालाई खोप लगाउने लक्ष्य लिएको छ । यही माघ ८ गते भारत सरकारले १० लाख मात्रा खोप नेपाललाई अनुदानमा दिएको थियो । खोप अभियान शुभारम्भमा सफलतापूर्वक सञ्चालन भई खोप लगाएका व्यक्तिमा कुनै पनि स्वास्थ्य समस्या नदेखिएको प्रवक्ता गौतमले बताए ।

काठमाडौंमा खोप केन्द्र रहेका अस्पतालको प्रधानमन्त्री केपी शर्मा ओली र स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले अनुगमन गरेका थिए । उनहरुले त्रिवि शिक्षण अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, वीरेन्द्र प्रहरी अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा अनुगमन गरी खोप लगाउने व्यक्ति र सेवा प्रदायकलाई हौसला दिनुभएको मन्त्रालयका प्रवक्ता प्रा डा गौतमले बताए ।

यस्तै मन्त्री त्रिपाठीले वीर अस्पताल, सिभिल अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र बलम्बुस्थित सशस्त्र प्रहरी बल अस्पतालमा रहेको खोप केन्द्रको अनुगमन गरेका थिए ।