‘आगामी निर्वाचनमा प्रचण्ड-नेपाल पक्षको १० सिट पनि आउँदैन’



काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनमा दाहाल–नेपाल पक्षको १० सिट पनि नआउने दाबी गरेका छन्।

बुधबार आफू निकट आदिवासी जनजाती महासंघ नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आगामी निर्वाचनमा पुष्पकमल दाहाल–माधव कुमार नेपाल पक्षको १० सिट पनि नजित्ने दाबी गरेका हुन्।

उनले दाहाल–नेपाल पक्ष सफलताको बाटोतर्फ नहिँडेर भिरको बाटो हिँडेको टिप्पणी पनि गरे। जनताले उक्त पक्षलाई कहिल्यै माफ नगर्ने प्रधानमन्त्री ओलीको भनाई छ। उनले बैशाख २७ गतेसम्म पुग्दा दाहाल–नेपाल पक्ष बरफ पग्लिए जसरी पग्लिएर सकिने पनि बताए।

प्रधानमन्त्री ओलीले आधिकारिक पार्टी आफूहरुको भएको बताए। विगतमा पार्टी र सरकार चलाउन नदिई खुट्टा तानिएको भन्दै उनले आगामी दिनमा नीतिगत तथा वैचारिक आधारमा पार्टी र सरकारलाई ठिक ढंगले चलाई पार्टीलाई एकढिक्का बनाई अघि बढाउने पनि बताए।