नेकपा विभाजनमा प्रचण्ड-ओलीको बराबर दोष: गौतम



काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुवैजना पार्टीको अध्यक्ष नभएको बताएका छन्।

नेकपा एकता राष्ट्रिय अभियान घोषणा कार्यक्रममा गौतमले दुवैजना नेकपाको भिन्नभिन्नै समूहको नेतामात्रै भएको बताए। उनले भने, ‘अहिले दुई समूह निर्माण भएका छन्, एउटा ओली र अर्को प्रचण्ड समूह। यी दुवै समूहका नेताद्वय हिजो नेकपाका अध्यक्ष हुनुहुन्थ्यो, आज उहाँहरू दुई समूहका नेता हुनुभएको छ।’

उनले प्रतिनिधिसभा भंग नगरी राजीनामा दिएको भए प्रधानमन्त्री केपी शर्मा ओलीको इज्जत बढ्ने बताए। उनले भने ‘पार्टी फुटे फुट्छ भनेर प्रतिनिधिसभा भंग गरियो, प्रतिनिधिसभा भंग नगरी राजीनामा दिएर राष्ट्रपतिकोमा गएको भए के हुन्थ्यो केपी ओलीको शान ? केपी ओलीको प्रतिष्ठा कति उचो हुन्थ्यो? ‘जहाँ हामी जान खोजेको सभ्यता थियो, त्योबाट हामी धेरै तल झर्‍यौं।’

पार्टी फुटेकामा नेपाली कांग्रेसलगायतका अन्य दलहरु पनि खुशी नभएको गौतमले बताए। आफूहरुले नयाँ पार्टी बनाउन नलागेको तर आफ्नो अभियानमा धेरैले साथ दिने उनले जिकिर गरे। ‘६ महिनामा काठमाडौंमा बस्न नसक्ने गरी जनता जुटाउन सक्छु, त्यो शक्ति निर्माण हुँदैछ’ गौतमले भने।

प्रचण्ड र केपी ओलीतिर भएका कार्यकर्ता एकता अभियानतिर ल्याएपछि पार्टी एकता भएरै छाड्ने उनले जिकिर गरे। ‘पार्टी एकता हुँदै भएन भने के गर्ने ? भन्ने पनि साथीहरुको जिज्ञासा छ’ उनले भने ‘हुँदै भएन भने त्यतिबेला हाम्रो केन्द्रीय कमिटी बसेर निर्णय गरौंला।’

नेता गौतमले नेकपा पार्टी विभाजन हुनुमा प्रचण्ड र केपी शर्मा ओलीको बराबर भूमिका रहेको आरोप लगाए। उनले भने, ‘पुस ५ गते एउटाले अविश्वास प्रस्ताव राखेर प्रधानमन्त्री हटाउने र विकल्पमा प्रधानमन्त्री हुने, अर्कोले तिमीले बहुमत पुर्‍याउन अनेक गर्दैछौ, त्यसो गरे प्रतिनिधिसभा भंग गरिदिन्छु भनेर अनेक पटक सांकेतिक भाषामा भनिरहनुभएको थियो अचानक भंग गरिदिनुभयो। पार्टी विभाजनमा कसैको बढी कसैको घटी भूमिका देख्दिन। संसद विघटनको क्षति अर्को पक्ष हो भयो, तर पार्टी विभाजन हुनको निम्ति दुबै नेताको बराबरी भूमिका छ, एउटाको बढी, अर्कोको घटी छैन।’

उनले भने, ‘ ‘प्रधानमन्त्रीको केही व्यक्तिवादी शैली, व्यक्तिवादी शैली, निरंकुश शैलीका कारण हामी एक ठाउँमा छौं, पार्टी फुट्ने मूल्यमा हाम्रो भावना दबाउनुपर्छ, अन्याय पनि सहनुपर्छ, भन्दा उहाँहरुले भन्नुभयो, कामरेड एकताले नै सबैथोक हुन्छ ? भन्नुभयोर’

प्रधानमन्त्री ओली एकताको पक्षमा नरहेको उनको भनाई छ। गौतमले भने, ‘प्रचण्डको नेतृत्वमा रहेको ठूलो पंक्ति एकताको पक्षमा छ, यो गर्नै हुने थिएन भन्ने पक्षमा छ। केपी ओली नेतृत्वमा रहेको समूहमा पनि ओलीबाहेक सबै एकताको पक्षमा हुनुहुन्छ।’