नेकपा र सूर्य ‘फ्रिज’ हुने सम्भावना



काठमाडौँ। सरकारले आगामी वैशाख १७ र २७ गतेका लागि निर्वाचन घोषणा गरिसकेको छ। सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन सदर गरिदिएको अवस्थामा निर्वाचनका लागि तीन महिनाभन्दा कम समय बाँकी रहन्छ।

यस्तो अवस्थामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट कुन पक्षले चुनावमा सहभागिता जनाउन पाउला भन्ने प्रश्न पनि अहम् बनेको छ। निर्वाचन आयोगको पछिल्लो निर्णयले नेकपाको वैधता कुन पक्षलाई दिने भन्नेतर्फ नभई नेकपाका दुवै पक्षले पुस ५ यता आफूखुशी गरेका निर्णयको वैधतालाई अस्वीकार गरेकोमात्र हो।

अब नेकपाको दुवै पक्षले वैधताका लागि निर्वाचन आयोगमा निवेदन दिन सक्नेछन्। त्यस्तो निवेदन उपर आयोगले तत्कालै फैसला गर्ला भनेर कल्पना गर्न सकिँदैन। आयोगले वैधताबारे फैसला गरिहाले पनि असन्तुष्ट पक्षले न्यायालयको ढोका ढकढक्याउने विकल्प बाँकी नै रहन्छ। यी सबै प्रक्रिया पूरा गर्न महिनौं लाग्न सक्ने भएकाले आगामी वैशाखमा निर्वाचन भइहालेको अवस्थामा नेकपा पार्टी र उसको चुनाव चिह्न ‘सूर्य’लाई निर्वाचन आयोगले ‘फ्रिज’ नगर्ला भन्न सकिँदैन।

जानकारहरुका अनुसार यही अवस्थामा पु¥याउने योजना अनुसार नै गत भदौमा ओली पक्षले निर्वाचन आयोगमा नेकपा (एमालें) दर्ता गराएको हो। निर्वाचन आयोगले नेकपा र उसको चुनाव चिह्न ‘सूर्य’ लाई वैधताको विवाद किनारा नलागेसम्म फ्रिज गर्दै निर्वाचनमा कुनै पनि पक्षलाई प्रयोग गर्न नदिएको अवस्थामा ओली पक्षले नेकपा (एमाले) बाटै चुनावमा भाग लिनका लागि गत भदौदेखि नै आवश्यक तयारी गरेको स्रोत बताउँछ।