काठमाडौँ। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नागरिक समाजको शान्तिपूर्ण विरोध कार्यक्रममा सरकारले गरेको दमनको विरोध जनाएका छन्।
सोमबार बालुवाटारमा नागरिकहरूमाथि प्रहरीले गरेको बल प्रयोगबारे नेता पौडेलले समाजिक सञ्जाल फेशबुकमा लेखेका छन्, ‘सबै प्रतिगामी शासक र तानाशाह नागरिकमाथि आफ्नो अन्तिम घडीमा यसैगरी दमनमा उत्रने गर्दछन्, जसरी सोमबार प्रबुद्ध नागरिकमाथि प्रहार भयो। तर, दमनले नागरिकलाई थप उर्जा प्रदान गर्दछ र अझै प्रतिगमनसँग डटेर लड्नका लागि प्रतिगमन विरुद्धका सबै आन्दोलनमा मेरो साथ र समर्थन रहनेछ। लोकतन्त्र र लोकतान्त्रिक संविधानको रक्षाका लागि हुने आन्दोलनमा म आफैं अघिल्लो मोर्चामा हुनेछु।’
वरिष्ठ नेता पौडेलले नागरिकको आन्दोलनप्रति आफ्नो साथ र समर्थन रहेको समेत उल्लेख गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीका अभिव्यक्ति र सरकारले नागरिकमाथि गर्ने व्यवहार हेर्दा सरकार निर्लज्ज रुपमा प्रस्तुत भएको प्रष्ट भएको वरिष्ठ नेता पौडेलको टिप्पणी छ।
उनले लेखेका छन्,‘हरेक प्रतिगामी शासक र तानाशाह आफ्नो अन्तिम समयमा यसैगरी बर्बराउने गर्दछन्, ‘जसरी प्रधानमन्त्री ओली आफ्नो विरोधीलाई अपमानित गर्न तम्सनुभएको छ।’
प्रधानमन्त्री निवास बालुवाटार बाहिर भएको शान्तिपूर्ण भेलामा सहभागी नागरिकमाथि प्रहरीले अन्धाधुन्द लाठी, पानीको फोहोरा हानेको थियो। प्रहरीको कुटाईबाट संघर्ष दाहाल, कुमार बर्तौला, सिएन थारु, स्वर्णिम दिनेश, रामनरेश यादव, प्राध्यापक रमेश भट्टराई, निर्गराज जैसी, जनक ढुङ्गाना, सुरज तामाङ, कुलदिप शर्मा, सुनिल श्रेष्ठ र गोविन्द भण्डारीलगायत घाइते भएका थिए।