चितवन। पुराना वामपन्थी नेता खम्बासिंह कुँवर ‘काजीबा’ को ९४ वर्षको उमेरमा मंगलबार बिहान भरतपुरमा निधन भएको छ।
काजीबालाई चितवन आएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तिम श्रद्धाञ्जली दिएका छन्। मधुमेह, रक्तचाप, प्रोस्टेटलगायतका स्वास्थ्य समस्या बेहोरिरहेका काजीबाको भरतपुर अस्पतालमा उपचाररत अवस्थामा निधन भएको हो। उनी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सल्लाहकार थिए।
कमरेड कुँवर विसं १९८४ बैशाख १० गते लमजुङ जिल्ला बाङ्ग्रे–७ मा जन्मिएर चितवन गीतानगर, केशरवागमा बसोबास गर्दै आएका थिए। उनको जन्म बुबा ललितजंङग कुँवर र आमा पुतली कुँवरका कान्छा छोराको रुपमा भएको थियो। उनका २ छोरा र ४ छोरी छन्।
कुँवरले २०११ सालमा लमजुङमा गुणबहादुर गुरुङबाट नेपाल कम्युनिस्ट पार्टीको सदस्यता लिएका थिए। विसं २०१५ मा चितवन झरेका कुँवरले सम्पूर्ण जीवन र आफ्नो जायजेथा पनि पार्टीलाई नै सुम्पिएका थिए।
उनलाई विसं २०६८ मा चितवनमा नागरिक समाज र तत्कालीन माओवादी पार्टीले नागरिक अभिनन्दनसहित रथारोहण गराएको थियो। यस्तै विसं २०६९ मा नेपाल सरकारले उनलाई सुप्रबल जनसेवाश्री विभूषणद्वारा सम्मानित गरेको थियो। जीविकोपार्जनका लागि भारत जाँदा २००७ सालमै भारतीय कम्युनिष्ट पार्टीका नेता अमृत डाँगीको सङ्गतमा परेपछि उनी नेपालमै फर्किएर वर्गीय आन्दोलनमा होमिएका थिए।
विसं २०१४ मा नन्सेन्टर जिल्ला कमिटीको नेतृत्वमा रहेका उनी त्यसपछि मोहनविक्रम सिंह, शम्भुराम, मनमोहन अधिकारी निर्मल लामालगायतका नेतासँगै न्यूक्लियस सङ्गठन गरेर सङ्गठन विस्तारमा लागेको उनी जीवित हुँदै बताएका थिए।
विसं २०३१ मा मोहनविक्रम सिंह महामन्त्री रहेको चौथो महाधिवेशनमा पोलिटब्यूरो सदस्य रहेका उनले गण्डकी, नारायणी, लुम्बिनीलगायत क्षेत्रमा रहेको आफ्नो जिम्मेवारी पूरा गरेका थिए। विसं २०३४ मा गोरखाको आरुघाटमा प्रगतिशील शिक्षकका लागि नेकपा चौमको प्रशिक्षण कार्यक्रम भएको थियो। त्यसका प्रशिक्षक कुँवर रहेका थिए। प्रशिक्षार्थीमध्ये एक थिए ‘प्रचण्ड’। त्यही प्रशिक्षणबाट प्रभावित भएर विसं २०३५ मा शिक्षक पेशा छोडेर दाहाल दीर्घकालीन कार्यकर्ता भएको बताइन्छ।
विसं २०४८ मा नेकपा माओवादी गठन भएपछि निरन्तर केन्द्रीय सल्लाहकार समिति सदस्य रहेका खम्बासिंह जनयुद्धकालमा भूमिगत थिए। हाल उनी पार्टीको केन्द्रीय सल्लाहकार रहनुभएको जिल्ला अध्यक्ष परियारले जानकारी दिए। उनका एक छोरा र चार छोरी रहेका छन्। उनी परिवारका सदस्यसँग भरतपुर महानगरपालिका–१० मा बस्दै आाएका थिए।
कमरेड कुँवर भारतीय सेनाको सेवा सुविधालाई छोडेर देश र जनताका निम्ति क्रान्तिमा होमिएका थिए। उनले नेपाल कम्युनिष्ट पार्टीको सदस्यता २०११ सालमा लिएका थिए। त्यसपछि उनी पार्टीका विभिन्न कमिटीहरुमा क्रियाशील रहँदै विसं २०३१ सालमा सम्पन्न चौथो महाधिवेशनबाट वैकल्पिक पोलिट्व्यूरो सदस्यमा निर्वाचित बने।
विसं २०४३ सालको अन्त्य तिर उनी गण्डक ब्यूरोबाट सरुवा भई नारायणी ब्यूरोमा आएका थिए। उनले जीवन पर्यन्त नेपाली कम्युनिष्ट आन्दोलनमा सक्रिय रहेर योग्दान दिएका छन्। खम्बासिंहकी श्रीमती धीराको २०७४ साल असार १० गते निधन भइसकेको छ। मंगलबार बिहान नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय माधव कुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संयुक्त रूपमा श्रद्धाञ्जली वक्तव्य जारी गरेका छन्।