‘आयोगले मलाई अध्यक्ष मान्दैन भनेछ, प्रचण्ड हुनुहुन्छ नि’



काठमाडौँ। प्रचण्ड–नेपाल नेतृत्वको नेकपा अध्यक्ष माधव कुमार नेपालले निर्वाचन आयोगले आफूलाई अध्यक्ष नमाने पनि नेकपाको अध्यक्ष प्रचण्डलाई मानेको प्रतिक्रिया दिएका छन्।

दुई नम्बर प्रदेशको अगुवा भेललाई सोमबार पेरिसडाँडामा सम्बोधन गर्दै उनले भने, ‘निर्वाचन आयोगले मलाई अध्यक्ष मान्दिनँ भनेछ, केही छैन। प्रचण्डलाई मान्छु भनेपछि उहाँको आधारिकता त रह्यो। केपी ओलीको नाम निकालेर हामीले दिइसकेका छौं। केपी ओली समाप्त।’

केपी ओलीलाई पार्टी केन्द्रीय कमिटिले नै अध्यक्ष पदबाट निकालिसकेको नेपालले जानकारी गराए। केन्द्रीय किमिटिबाट निर्णय गरेर हटाउने अधिकार रहेको भन्दैं उनले केपी ओलीलाई अनुशासनको कारबाही गरेको बताए। ‘यस्तो अवस्थामा त्यो भएका दुई वटा अध्यक्ष मध्ये एउटा खाली हुने भयो। त्यो घुमिफिरी त आफूतिरै आउने नै हो’, उनले भने, ‘केपी ओलीजी, केही चान्स छैन तपाईँको। खुरूक्क जानुहोस्, वालुवाटार छोड्नुहोस्, आराम गरेर बस्नुहोस्।’

उनले पार्टीको चुनाव चिह्न सूर्य आफूहरूकैं भएको जानकारी दिए। ‘केपी ओलीले अनेक ढंगको सेटिङ मिलाएर सूर्य चिन्ह यतैको हुन्छ भन्नु भएछ, ओरजिनल पार्टी हाम्रो हो। त्यसैले सूर्य चिन्ह कहीँ जादैन।’

‍उनले केपी ओलीको समूहलाई धूलो छाप पार्टीको संज्ञा दिए। ‘केपी ओलीको धुलो छाप पार्टीमा सदस्यहरू गए। ४५ सदस्यीय स्थायी कमिटीमा हामीसँग बहुमत छन्। ४३४ केन्द्रीय सदस्यमध्ये उनीहरूसँग जम्माजम्मी १०० जना होलान्,’ उनले भने, ‘४५ जनाको स्थायी कमिटीमध्ये २८ जना हामीसँग छन्। २३ जान हुँदा बहुमत पुग्थ्यो भने हामीसँग २८ छ। त्यसो भएकाले बरू उता भएका मान्छेहरू पनि यतै आउन सक्नुहुन्छ है।’

अहिले भएका ४३४ मध्ये झन्डै तीन सय भन्दा बढी सदस्य आफूहरूसँग भएको भन्दै नेपालले केपी ओलीसँग १०० जनाको शेरोफेरोमा मान्छे रहेको भन्दै १०० जना धेरैहुन्छ कि, ३०० जना धेरै हुन्छरु भन्दै प्रश्न गरेका छन्। ‘कहाँको ३ सय, कहाँ १ सय। केपी ओलीसँग एक तिहाईको त कुरै छोड्नुहोस्। ३० प्रतिशत पनि छैनन्। हामीसँग ७० प्रतिशत छन्।’

अध्यक्ष नेपालले आफुहरुको लडाइँ गलत विचारको विरूद्द भएको बताएका छन्। उनले आफूहरुको लडाइ सही विचारको निम्ति र गलत विचारको विरुद्ध रहेको बताए। पार्टीभित्र पद र कुर्सीको हानाथाप भएको नभई पार्टीलाई विचार, बिधि, पद्धती र राम्रो कार्यशैलीमा अघि बढाउनको निम्ति र गलत बिचारको विरुद्धको भएको उनको भनाई छ।

अध्यक्ष नेपालले प्रतिनिधि सभा भंग हुने आधार नभएको बताए। प्रधानमन्त्री ओलीको चुनाव गराउने इच्छा नभएको भन्दै संकटकाल लगाएर अथवा तानाशाह लादेर भए पनि सत्तामा बसिरहन चाहेको उनले जिकिर गरे।

कार्यक्रममा बोल्दै नेकपाका बरिष्ठ नेता झलनाथ खनालले विगत ३ वर्षमा प्रधानमन्त्री ओलीले पार्टी र सरकारलाई गलत दिशातर्फ लाने दुस्प्रयास गरेको बताए। समाजवादी बाटो छोडेर भद्दा किसिमको पुँजिवादी उदारबाद अपनाएका कारण पार्टीमा प्रश्न उठ्दै गएको उनको भनाई छ। ओलीले झापाको दमकमा अर्बौँ अरब बजेट दिएको भएपनि देशभर जनअपेक्षा अनुसारको बजेट नदिएको उनले आरोप लगाए।