अहिले सडकमा खाते छैनन्: प्रधानमन्त्री ओली



काठमाडौँ। प्रधामन्त्री केपी शर्मा ओलीले अहिले सडकमा ‘खाते’ नभएको बताएका छन्।

आइतबार राजधानीके सभागृहमा ‘अपाङ्गता भएका व्यक्तिहरुको समस्या र सबाल’ साक्षात्कार कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। झण्डै आधा घण्टा सम्बोधन गरेका ओलीले पहिले अपाङ्गता हुनु भयावह भएपनि अहिले सरकार साथमा रहेको बताए।

उनले अहिले सरकारले अभिभावकको भूमिका खेलेका कारण सडक बालबालिका नरहेको बताए। हिजो सडकभर बालबालिका हुने र उनीहरुलाई खाते भनेर अपमान गर्ने गरिएको भन्दै उनले भने, ‘अहिले कुनै पनि नेपालीको छोराछोरीले खाते भन्ने सन्नु परेको छैन। हामी नेपालीका छोराछोरीलाई खाते हुन दिँदैनौं। अहिले सडकमा खाते छैन।’

सम्बोधनका क्रमा प्रधानमन्त्री ओलीले आफूपनि अलिअलि अपाङ्गता भएको व्यक्ति भएको दाबी गरेका छन्। अपाङ्गता भएर पनि अरुलाई जगाउनेहरु जोन हकिङ, झमक घिमिरे लगायतको चर्चा गर्दै उनले भने, ‘उदयमान कलाकारहरु हुनुहुन्छ, जस्तो सजल बम। यस्तो थुप्रो साथीहरु हुनुहुन्छ।’

शारीरिक रुपमा अशक्तता भएकाहरुले देश विकासमा काम गर्नसक्ने उनले बताए। अपाङ्गता भएर पनि समाजसेवाका साथै हामी केही गर्न सक्छौं भनेर अरुमा आत्मविश्वास जगाउने र बाटो देखाउने काम गरेको भन्दै प्रशंसा गरे।

‘म पनि थोरैथोरै अपाङ्गता भएको मान्छे हुँ। मेरो पनि किड्नी फेल भएपछि अर्को जोडेर राखेको छु। म पनि अर्को किड्नीको ह्विलचियर चढेर हिँडेको मान्छे हुँ। त्यो पनि फेल भयो। फेरि अर्को किड्नीको बैशाखी टेकेर हिँडेको छु,’ उनले भने, ‘आँखामा मैले चश्मा किन लगाएको? यदि लगाइन भने पढ्न सक्दिनँ। त्यो पनि अपाङ्गता नै हो।’