‘सिधा कुरा जनतासँग’ कार्यक्रम रवी लामिछानेले नपाउने



काठमाडौँ।‘न्युज २४’ टेलिभिजनमार्फत प्रशारण हुने ‘सिधा कुरा जनतासँग’ नामक कार्यक्रम नियमित रुपमा प्रसारण जारी राख्ने बताएको छ।

उक्त कार्यक्रम प्रस्तोता रवि लामिछाने टेलिभिजनबाट बाहिरिएसँगै टेलिभिजनले वैकिल्पक प्रस्तोतामार्फत कार्यक्रमलाई नियमित रुपमा प्रसारण गर्ने बताएको । उता रवि लामिछानेले पनि केही समयपछि परिस्कृत सोच र स्वरुपमा पुनः कार्यक्रम लिएर आउने उद्घोष गरेका छन्। उनले सामाजिक सञ्जालमा दुःख पर्दा फोन गर्न सकिने र फेरि कार्यक्रम लिएर फर्किने भन्दै फोन नम्बरहरु पोस्टहरू गरेका छन्।

लामिछाने र टेलिभिजनको दावीले गर्दा ‘न्युज २४’ र रवि लामिछानेबीच कार्यक्रमको स्वामित्वलाई लिएर विवाद बढेको देखिएको छ। करिब पाँच वर्ष ‘न्युज २४’मा कार्यक्रम चलाएका रवि लामिछानेले कार्यक्रम आफ्नो बौद्धिक सम्पत्तिका रुपमा दावी गरेपनि टेलिभिजनले भने लामिछाने कार्यक्रमको प्रस्तोता मात्रै भएको बताएको छ।

‘न्युज २४’ च्यानलको सञ्चालक नेपाल ब्रोडकास्टिङ च्यानल ९एनबीसी० का एक पदाधिकारीले हप्ताको ३ दिन नै पुरानै तालिकाअनुसार नै कार्यक्रम सञ्चालन नियमित हुने बताए। आइतबार, मंगलबार र बिहीबार राति ८।५०मा नियमित प्रसारण हुने गरेको छ।

न्युज २४ले झुक्याएर लामिछानेले कार्यक्रमको पेटेन्ट (कपि)राइट दर्ता गराएको भए त्यो छलकपट र बदमासी हुने टेलिभिजनले बताएको छ। त्यसो भएमा आफूहरु कानूनी रुपमा नै कार्यक्रमको लागि लड्ने टेलिभिजनका पदाधिकारीहरु बताउँछन्। आफूहरुले त्यस्तो नचाहेको भन्दै उनले लामिछानेको कानूनी दावी रहे आफूहरु पनि कानूनअनुसार नै अघि बढ्ने बताए।

‘यो कार्यक्रम न्युज २४को आफ्नै भएकाले प्रस्ताताले यसमा दावी गर्न मिल्ने ठाउँ छैन,’ एक पदाधिकारी भन्छन्,’हामीले रविजीसँग गरेको सम्झौतामा उहाँको ‘जब डिस्क्रिप्सन’ स्पष्ट छ, त्यसमा कार्यक्रमको सर्वाधिकार २४मै निहीत उल्लेख छ।’

कार्यक्रमको ‘क्रेडिट टाइटल’मा पनि कार्यक्रमको सर्वाधिकार कम्पनीको हुने उल्लेख रहेको कम्पनीको दावी छ। कार्यक्रमको कपिराइटबारे लामिछानेले सार्वजनिक रूपमा केही बताएका छैनन् । यसबारे बुझ्न खोज्दा लामिछानेको फोन उठेन।

उनले अन्तिम एपिसोडमा लाइभ गर्न नपाउँदा दुःख लागेको समाजिक सञ्जालमा लेखेका थिए। ‘५ वर्ष काम गरेको संस्था छोड्नु पर्दा दुःख लाग्यो, अन्तिम कार्यक्रमको अन्तिम र मुख्य रिपोर्ट नै काटिएकोमा झन दुःख लाग्यो,’ उनले लेखेका थिए। उनले आफ्नो टिमले तयार पारेको तर, प्रसारण नभएको रिपोर्ट पनि सार्वजनिक गरेका थिए।