केपी शर्मा ओलीलाई साधारण सदस्यताबाट निष्कासित



काठमाडौँ। प्रचण्ड–माधव पक्षले केपी शर्मा ओलीलाई साधारण सदस्यतासमेत नरहने गरी पार्टीबाट निष्कासन गरेको छ।

आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी समिति बैठकले सो निर्णय गरेको हो। ओलीले राष्ट्र र पार्टी हितका विरुद्ध गतिविधि गरेपटि पार्टीले लिएको स्पष्टीकरणको जवाफ नदिएपछि उनलाई साधारण सदस्यतासमेत नरहनेगरी कार्वाही गरिएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

यसअघि पार्टी अध्यक्षको जिम्मेवारीबाट मुक्त गरिएका ओलीलाई पार्टी केन्द्रीय कमिटी बैठकको अधिकार प्रयोग गरी साधारण सदस्यता समेत नरहने गरी निष्कासन गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए।

प्रवक्ता श्रेष्ठले भने– ‘यसअघि पार्टी अध्यक्षबाट हटाएपछि पनि उनले राष्ट्र, जनता, संविधान र पार्टीका विरुद्ध लगातार गतिविधि गरेकोले पार्टी विधानअनुसार उनलाई स्पष्टीकरण सोधिएको तर त्यसको जवाफ (स्पष्टीकरण) नदिएपछि आजको स्थायी कमिटी बैठकले पार्टी सदस्यबाट हटाउने निर्णय गरेको छ।’

बैठकले पार्टी केन्द्रीय कार्यालयको सचिवमा गंगालाल तुलाधार र उपसचिवमा मोहन गौतमलाई जिम्मेवारी दिने निर्णय गरेको छ। माघ ९ गतेको जनप्रदर्शन भव्य रुपमा सम्पन्न भएको निश्कर्ष निकाल्दै सोमबार अर्को चरणको संघर्षका कार्यक्रम सार्वजनिक गर्ने निर्णय बैठकले गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए।