बाँकेमा विप्लवको नेपाल बन्द प्रभाव (फोटो फिचर)



कोहलपुर। नेपाल कम्युष्टि पार्टी (विप्लव)द्वारा आह्वान गरेको नेपाल बन्दको प्रभाव कोहलपुरमा आंशिक रुपमा परेको छ।

कोहलपुर तथा चप्परगौडी बजारका केही पसलव्यवसाय बन्द भए पनि अधिकांश पसलहरु खुलेका छन्। लामो दुरीका सवारीसाधन भने चलेका छैनन्। स्थानीय तथा साना दुर्इ तीनपांग्रे सवारीसाधनहरु भने निर्वाध रुपमा चलेका थिए।

विप्लव नेकपाले ललितपुरबाट पक्राउ परेका पश्चिम कमाण्ड इञ्चार्ज एवं सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’लाई निशर्त रिहाईको माग गर्दै माघ १ गते एक प्रेस वक्तव्य जारी गरेर ३ गतेदेखि विभिन्न विरोधका कार्यक्रमहरु गर्ने र माघ १० गते शनिबार नेपाल बन्द गर्ने घोषणा गरेको थियो।

प्रहरीले बास्तोलाविरुद्ध तीनवटा कसुरमा अनुसन्धान अघि बढाएको छ। नख्खुमा एक जनाको मृत्यु र दुईजना घाइते हुने गरी २०७५ साल फागुनमा भएको बम विष्फोटनमा संलग्न रहे नरहेको विषयमा उनीमाथि अनुसन्धान गरिरहेको छ।

बास्तोलाविरुद्ध प्रहरीले बम विष्फोटन, हातहतियार तथा खरखजाना, चन्दा असूली, आपराधिक लाभ, राज्यविरुद्धको कसूर र संगठित अपराधको अभियोग लगाएको छ।

विप्लव समूहले गत मंसिर २३ गते मोरङ मिक्लाजुङ १ बर्खेमा शिक्षक राजेन्द्र श्रेष्ठको गोली हानेर हत्या गरेको थियो। उक्त हत्यामा संलग्न रहेको आशंकामा मोरङ जिल्ला ईन्चार्ज धनबहादुर विकलाई पनि प्रहरीले पक्राउ गरेको छ।