१८ जना नेपाली कामदाहरुको लास काठमाडौँमा (फोटोसहित)



काठमाडौँ। वैदेशिक रोजगारीको क्रममा मलेसियामा पुगी प्राणत त्याग गरेका १८ जना नेपाली कामदारहरुको शव शनिबार नेपाल ल्याइएको छ।

विभिन्न मितिमा मृत्यु भएका नेपाली कामदारहरुको शव नेपाल एयरलाइन्स मार्फत शनिबार काठमाडौँ ल्याइएको हो। एयरलाइन्सले सामाजिक उत्तरदायित्वअनुसार ति शव ल्याउने निर्णय गरेको थियो।

त्यसका लागि शुक्रबार एयरलाइन्सको वाइडबडी जहाज लास लिनको लागि मलेसिया उडेको थियो। यसअघि मलेसियास्थित दूतावासले मलेसियामा मृत्यु भएका नेपालीको शव ल्याउन निगमलाई आग्रह गर्दै गरेको थियो। सोहीअनुसार परराष्ट्र र पर्यटन मन्त्रालयसँग सहकार्य गरेर निगमले शव ल्याएको हो। निगमको जहाजमा ल्याइएको शव आजै आफन्तलाई जिम्मा लगाइएको छ।

शव लिनका लागि विमानस्थल पुगेका मृतकका आफन्तहरु निराश र भावविह्वल भएका थिए। देशमा पर्याप्त रोजगारी नपाएर अवसरको खोजीमै विदेश पुगेका कतिपय नेपालीको सुन्दर सपना अधुरै बनेको मात्रै छैन अकालमै ज्यान गुमाउन समेत विवश छन्।

मलेसियाको क्वालालाम्पुरबाट शनिबार नेपाल वायुसेवा निगमले वाइडबडी जहाज ए३३० जहाजबाट १८ वटा शव नेपाल ल्याइएको हो। मलेसियमा सदगत गरिएका एक जनाको अस्तु पनि आएको छ। बहराइनबाट पनि एकजनाको शव आजै आउने वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले बबताए।

मलेसियाबाट सानो जहाजमा यात्रुसहित उडान गर्दा यात्रुकै ब्यागेजले कार्गो भरिने समस्या नेपाल ल्याउनुपर्ने शवहरु उतै अड्किएका थिए। आएका शवहरूलाई वैदेशिक रोजगार बोर्डले निःशुल्क घर वा आफन्तले सद्गत गर्ने स्थानसम्म पुर्‍याउनेछ। केही परिवारले शव ढुवानीका लागि बोर्डमा निवेदन दिएका छन् भने केही परिवार काठमाडौं आउन बाँकी छ।

तस्बिर: मुकुन्द कालिकोटे