‘केपी ओलीले सन्तानका बारेमा सल्लाहकारसँग सोधुन’



काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (प्रचण्ड-नेपाल) पक्षका प्रभावशाली युवा नेता विष्णु रिजालले प्रधानमन्त्री केपी शर्मा ओली व्यक्तिगत रुपमा लाल्छना लगाउने र रिसिबी साध्नेमा उत्रेको आरोप लगाएका छन्।

शुक्रबार सामाजिक सञ्जाल फेशबुक मार्फत (प्रचण्ड-नेपाल) पक्षका केन्द्रीय सदस्य रिजालले उक्त आरोप लगाएका हुन्। उनले लेखेका छन्, ‘अहिले प्रधानमन्त्री स्वयम् चाहिँ बा (पुष्पकमल दाहाल) सँगको रिसिबीको बदला लिन उहाँका छोरीहरुमाथि खनिनु भएछ। राजनीतिमा मतान्तर हुन्छन्, आरोप–प्रत्यारोप पनि हुन्छ। तर, त्यसमा कुनै पनि व्यक्तिको स्वास्थ्य, धर्म, लिंग, परिवार र निजी विषयलाई उछाल्नु हदैसम्मको निकृष्टता बाहेक केही हुन्न।’

अरुको सन्तानमाथि बिनाअर्थ जाइलाग्दा त्यसको असर ओलीलाई थाह नहुने बताउँदै उनले अगाडि लेखेका छन्, ‘जब मुलुकको प्रधानमन्त्रीले नै यस्तो विषयमा फायर खोल्नुहुन्छ भने राजनीति स्वस्थ होला भनेर कसरी अपेक्षा गर्न सकिन्छ? सन्तान नभएका कारण सन्तानमाथि आरोप लगाउँदा कसरी चित्त दुख्छ भन्ने उहाँलाई थाहा छैन। तर, त्यस्तो पीडा कस्तो हुन्छ भन्ने कुरा उहाँले आफ्नै उपप्रधानमन्त्री र सल्लाहकारलाई सोधे हुन्छ, त्यतिबेलाका उहाँहरुका रोदनमिश्रित ट्वीट र फेसबुक पोस्ट हेरे हुन्छ।’

सन्तानको बारेमा प्रधानमन्त्रीले आपफ्ना सल्लाहकारहरुसँग सोध्न नेता रिजालले सुझाव दिएका छन्। उनले लेखेका छन्, ‘सन्तान सबैका हुन्छन्, प्रधानमन्त्री यसमा अपवाद हुनुहुन्छ। उहाँका उपप्रधानमन्त्री र सल्लाहकारका छोराहरुले ओम्नीसँग मिलेर व्यापारबाट अवाञ्छित लाभ लिए भनेर एउटा अनलाइनले लेख्दा उहाँका विज्ञले आफ्नो विज्ञता प्रयोग गरेर साइटबाट समाचारै हटाइदिएको धेरै भएको छैन। बा–आमासँग जोडेर सन्तानलाई प्रताडित गर्नु अपराध हो भनेर त्यतिबेला चौतर्फी आलोचना भएको थियो।’

थप सामाग्री हेर्न र पढ्न सक्नुहुनेछ

‘मनमोहनलाई संसद विघटनकाे सुझाव दिने पनि नेम्वाङ हुन्’