ओलीका साइबर सेनालाई प्रचण्डले दिए स्यालको संज्ञा



काठमाडौँ। नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री ओलीको रक्षार्थ निमार्ण गरिएको साइबर सेनालाई साइबर स्यालको संज्ञा दिएका छन्।

शुक्रबार राजधानीमा आयोजित विशाल आमसभालाई सम्बोधन गर्दै प्रचण्डले आमसभामा उपस्थिति हुने कर्मचारीहरुको साइबर स्यालहरुले रेकर्ड राख्ने भनेको प्रसँगलाई सम्बोधन गर्दै स्यालको संज्ञा दिएका हुन्।

प्रचण्डले भने, ‘यो प्रदर्शनमा सहभागी हुने पेशाकर्मी, कर्मचारीहरुको रेकर्ड राख्ने रे केपी ओलीका साइबर स्यालहरुले। साइबर स्यालले रेकर्ड राख्ने रे। अनि कारबाही गर्ने भनेर धम्की दिने रे ? खबरदार! कर्मचारीहरु को को जुलुसमा गए ? म यो मञ्चबाट केपी र उनको निरंकुश गुटलाई चुनौती दिन चाहन्छु– गरेर देखाऊ। एउटा कर्मचारीलाई छोएर देखाऊ। त्यसपछि के हुन्छ ?’

उनले अगाडि भने, ‘सबै कर्मचारी साथीहरु, हिजो तपाईंहरुले गणतन्त्रको आन्दोलनमा जसरी सडकमा निक्लेर पार्टीहरु र नागरिक समाजलाई साथ दिनुभयो र तपाईंहरु गौरवान्वित हुनुभयो, नडराउनोस्। तपाईंहरुलाई छिसिक्क रौं मात्रै हल्लियो भने पनि त्यसको संरक्षण हामी गर्ने छौं। भोलिको सरकार फेरि पनि जनताको सरकार हो। छिटै जनताको सरकार आउनेवाला छ। त्यो सरकारले कारबाही त केपी ओली र त्यसको निरंकुश गुटलाई गर्ने छ, कर्मचारीलाई, वीरहरुलाई होइन।

उनले भने, ‘लोकतन्त्र, सामाजिक न्याय र समृद्धिको पक्षमा, न्यायको पक्षमा लड्नेलाई कारबाही ? यो चल्ने वाला छैन। कर्मचारी साथीहरु, तपाईंहरु ढुक्क भएर अगाडि बढ्नोस। हामी हिसाब राख्छौं। केपीले राखेको हिसाब मिल्नेवाला छैन । केपीले राखेको हिसाबको केही अर्थ हुनेवाला छैन। जो निरंकुशताका विरुद्ध लडाइँ लड्छ, महान त्यही हुन्छ। लोकतान्त्रिक गणतन्त्रको पक्षमा, संविधानको पक्षमा जो लड्छ, महान त्यही हुन्छ ।नेकपाले शक्ति प्रदर्सन सहित आमसभा गरेको थियो।’

सभामा बोल्दै प्रचन्डले ईतिहासका बादशाहहरु जनताकै बलमा तह लागेको बताए। उनले ओली प्रब्रितिका बिरुद्द डटेर लड्न समेत आफ्ना कार्यकर्तालाई निर्देशन दिए। उनले अब कही कतै नभै, जनताको सेटिङ नै, मुख्य रहेकाले ,ओलिको कदमलाई जनताको सेटिङ्ले फैसला पत्तासाप पार्ने उदघोष गरे।