किड्नी प्रसंग: ओलीद्वारा पटकपटक महिलाको अपमान



काठमाडौँ। नेकपा ओली समूहका अध्यक्ष तथा काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओली बारम्बार फेक न्युजलाई भाषणको विषय बनाउन थालेका छन्।

ओली निकट प्रेस संगठन नेपालले राजधानीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा बिहिबार ‘महिलाको किड्नी’ भन्ने शब्दका बारेमा लामै चर्चा र झुटको प्रचार गरे।

‘किड्नीको कथा’

ओली पछिल्लो समय रक्षात्मक परिस्थितिमा पुगेको सहज अनुमान फेक न्युजको साहरा लिनुले पुष्टि गर्छ। उनले आफू इतरका व्यक्ति र नेताहरुलाई तल्लो स्तरको गालि गर्नुले पनि थप पष्ठि गर्ने नै भयो। बिहिबारको कार्यक्रममा प्रचण्ड-नेपाल पक्षका नेता डा.भीम रावललाई डा. लेख्या केटो भन्ने खालको अभिव्यक्ति दिएका छन्।

साथै उनले नेता रावललाई लक्षित गर्दै ‘महिलाको किड्नी राखेका कारण दिमाग खुस्कियो’ भनेको निराधार आरोप लगाउँदै भने, ‘महिलामाथि कत्रो अपमान। लेख्या छन् डा.।’

ओलीले यसअघि १९ पुस २०७७ मा कार्की ब्याङ्क्वेटमा आयोजित अनेरास्ववियुको कार्यक्रममा पनि यहि तर्क गरेका थिए। ओलीकै शैली पछ्याउँदै २३ पुसमा राष्ट्रिय सभाको बैठकमा विमला पौडेलले पनि फेक न्युजलाई आधार मानेर चर्को भाषण गरेकी थिइन्। १३ पुसमा नेता रावलले कैलालीको धनगढीमा आयोजित कार्यक्रममा बोलेको अभिव्यक्तिलाई तोडमोड गरी एक अनलाइनले समाचार प्रकाशित गरेपछि १४ गते त्यसको खण्डन गरेका थिए।

त्यस्तै १४ पुसमै सेन्टर फर मिडिया रिसर्च र माइसंसारले भाइरल भएको उक्त अभिव्यक्तिको तथ्य जाँच गरी नेता रावलले उक्त कार्यक्रममा बोल्ने क्रममा त्यस्तो नबोलेको र हचुवाको भरमा केही भिजिटर बढाउनका लागि उक्त सन्दर्भ भाइरल बनाएको तथ्य पुष्टि गरेको थियो।

यसरी ओलीले आफू इतरका नेताहरुको खैरो खन्ने नाममा फेक न्युुजको तथ्य पुष्टि हुँदा पनि त्यहि फेक न्युजको आधारमा बारबार महिलाको किड्नीबारे बोलेर उल्टै महिलामाथि अन्याय गरिरहेका छन्। कार्यकर्तालाई हसाउने र विपक्षिलाई भित्तामा पुर्याउने खालका अभिव्यक्तिमा रमाउने ओली संसद विघटनपछि चौतर्फि दबाबको सामाना गरिरहेका छन्। उनी हतास र त्रसित मानसिकतामा देखिन्छन्। उनी जुन कुनै निर्णय लिन सक्ने सहज अनुमान गर्न सकिन्छ।

अर्को कुरा यसरी देशको प्रधानमन्त्रीले बारम्बार फगत न्युजको आधारमा महिलामाथि जानाजान अपमान गरिरहँदा पनि कुनै एक महिला अधिकारकर्मीहरुले यसका बारेमा टिप्पणी गरका छैनन्। उनीहरु पनि फेक न्युजको सिकार त भएका छैनन्? वा प्रधानमन्त्रीको सत्तादेखि डराएका हुन् ? यसको जवाफ कसले दिने ? खैर प्रश्न त गर्न पाइन्छ।

पत्रकारलाई भाषा सिकाउने कुचेष्टा

बिहिबारको कार्यक्रममा ओलीले पत्रकारहरुलाई भाषा सिकाउने कुचेष्टासमेत गरेका छन्। अंग्रेजी ‘यू’ लाई पछ्याएको भन्दै भाषामा शिष्टता प्रयोग गर्न निर्देशन दिएका छन्।

समाचारहरुमा ‘तिमी’ भनेर लेखेको विषयलाई इंगित गर्दै ओलीले उक्त निर्देशन दिएका हुन्। साथै पत्रकार देख्दा र सुन्दा वित्तिकै कुन पार्टीको हो? भनेर चिन्न सकिने परिचय बनाउन आग्रह गरेका छन्।

यसअघि ४ असार २०७६ मा ओलीले सञ्चार माध्यमले तपाईँ नभनेर तिमी भनेको भन्दै आलोचना गरेका थिए। अहिले धेरैजसो सञ्चार माध्यममा व्यक्तिलाई अप्रत्यक्ष रूपमा उद्धृत गर्दा उनी, उनकाे, उनले जस्ता तृतीय पुरुष शब्दवाक्य प्रयोग गर्दै आएका छन्। उनले आजका दिनमा पनि आफूलाई तपाईं भनेर सामाचारमा सम्बोधन नगरेको पिर बोकिरहेको देखिन्छ।