कांग्रेस नेता बिष्टको ‘जय पराजय’ सार्वजनिक



काठमाडौँ। नेपाली कांग्रेस कालिकोटका वरिष्ठ नेता हिक्मतबहादुर विष्टद्वारा ‘जय पराजय’ नामक आत्मपरक निबन्ध संग्रह विमोचन गरिएको छ।

पार्टी सभापति शेरबहादुर देउवा निवासमा एक कार्यक्रमको आयोजना गरेर बिहिबार उक्त पुस्तकको विमाेचन गरिएको हो। पार्टी सभापति देउवाले लेखक विष्टको बाँकी लेखनीय जीवन र पुस्तकको सफल्ताका लागि शुभकामना दिएका छन्।

नेपाली लेखक संघका केन्द्रीय उपाध्यक्ष तथा नेपाली कांग्रेसका युवा नेता मोतिराज बमका अनुसार सभापति देउवाले लेखकलाई शुभकामना दिनुका साथै पार्टीभित्र मिलेर जानुको विकल्प नरहेको बताए।  उनले भने, ‘हामीले मिलेर जानुपर्छ। आन्तरिक लोकतन्त्रलाई सुदृढ पार्नुपर्छ। जिल्ला तहमा मिलेर गएको खण्डमा मात्रै हाम्रो जित हुन्छ। हामीले मिलेर जानुको विकल्प छैन।’

लेखक बिष्टले आफ्नो पुस्तकमा केही आत्मपकर र केही राजनीतिक सन्दर्भहरु समावेश गरिएकाे स्पष्ट पारे। साथै सभापति देउवालाई स्थानीय स्तरका कार्यकर्ताहरुको उचित मुल्याङकन गर्न अनुरोध गरे।

उनले भने,‘गाउँस्तरमा पार्टीमा आवद्ध भएर निरन्तर काम गरिरहेका साथीहरु छन्। विभिन्न प्रवृत्तिका साथीहरु पनि छन्। स्थानीय कार्यकर्ताहरुले नेतृत्वबाट न्यायको अपेक्षा गरिरहेका छन्। इमान्दारपूर्वक काम गरिराखेका छन्। नेतृत्वले सहि र विवेकपूर्ण मुल्याङकन गर्नुपर्ने देखिन्छ। नेतृत्वलाई भ्रममा राखेर इमान्दार कार्यकर्ताहरुलाई ओझेलमा पार्ने काम भइरहेका छन्। यसतर्फ ध्यान दिनुपर्ने देखिन्छ।’

साथै बिष्टले संसद विघटनको बारेमा सभापति देउवालाई आफ्ना कुराहरु सुनाए। उनले भने, ‘केही पक्षले चुनावमा जानुपर्छ भन्ने सुनिन्छ। अर्को धारले प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्छ भनेको सुनिन्छ। यसका बारेमा नेतृत्वले कार्यकर्तालाई स्पष्ट पार्नुपर्छ। साथै कतिको अदालती निर्णय कुर्नु पर्छ भनेको पनि सुनिन्छ। यस समयमा पार्टीका सभापतिले स्पष्ट पार्नुपर्छ।’

कांगेसको केन्द्रीय शुभेच्छुक संस्था समन्वय विभाग सदस्य भावना शाहीका अनुसार कार्यक्रममा कालिकोट कांग्रेसका पूर्वसभापति मुक्तिप्रसाद न्यौपाने, पूर्व सभापति तथा कांग्रेस संगठन विभाग सदस्य कालिबहादुर सहकारी, महासमिति सदस्य शिवलाल रोकाय, अविक्ता पदमबहादुर शाही, पारशमणी विष्टलगायतको उपस्थिति रहेको थियो।